६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

घाइतेहरुको उपचारमा सक्रिय भएर उपचार गराउन मन्त्री केसीको निर्देशन



२८ पुस, कोहलपुर । गएराती दाङको भालुबाङमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइतेहरुको अबस्था बारे जानकारी लिन लुम्बिनी प्रदेश सहरी विकास मन्त्री कृष्णा केसी नमुना अस्पतालमा नै पुगेर घाइतेहरु संग भेट गरेकी छन् ।

उनले शनिबार विहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर कोहलपुरमा उपचाररत १२ जना घाइते र घाइतेका आफन्तलाई भेट गरेकी हुन् । घाइते र घाइतेका आफन्तसँगको भेटपछि मन्त्री नमुनाले अस्पताल प्रशासनलाई घाइतेको उपचारमा कमी नगर्न निर्देशन दिएकी छन् । यहाँ उपचार सम्भव नभएका बिरामीको उपचारका क्रममा आफूले सक्दो सहयोग गर्ने मन्त्री नमुनाले बताईन् ।

दुर्घटनामा घाइते भएकाहरु मध्ये १२ जनाको कोहलपुरमा उपचार चलिरहेको छ भने एक जनाको डिस्चार्ज भईसकेको छ । बाँके डुडुवा निवासी मोहम्मद जावेद उपचार गराएर घर फर्केका छन् । उपचार गराइरहेका घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

घाइते मध्ये कालिकोटका ४५ वर्षीय तिलकप्रसाद उपाध्यायको अवस्था गम्भीर रहेको छ । अस्पताल स्रोतका अनुसार नेपालगन्जका २४ वर्षीय अशुतोष गौतम, २० वर्षीय निरन्जन कोरी, २० वर्षकै अरवाज नाउ, बर्दियाका २२ वर्षीय राजीव थारु, बाँकेका १९ वर्षीय नफिच खान, भारतका २० वर्षका छोटी सिलौरा, बाँकेकै दशरथ बि।क।, बाँके राप्ती सोनारीका ३१ वर्षका कुलबहादुर गोसाई, नेपालगन्जकी ३५ वर्षीया लिला वली, बाँकेकै २१ वर्षीय शंकर थारु र रावलकुमार यादवको अवस्था सामान्य छ ।

नेपालगन्जदेखि काठमाडौ जाँदै गरेको बाग्मती प्रदेश ३००१ ख ३९१२ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई पुलबाट अन्दाजी २५ मिटर तल राप्ती नदीमा खसेर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १० : ०३ बजे