६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु



देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । काठमाडौँसहित कास्की, सुर्खेत र बारा जिल्लामा दुर्घटना भएका हुन् ।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित क्षेत्रीय उपत्यका बसपार्कमा बा.२ ख २५६९ नम्बरको बसको ठक्करबाट सिरहा गोलबजार नगरपालिका–१२ बेतौना घर भई काठमाडौँ मुलपानी बस्ने २९ वर्षीय हरि यादबको शुक्रबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिका–२४ कास्कीकोट काउलेस्थित सडकमा ग.१ क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कुलको बसको ठक्करबाट उक्त विद्यालयको नर्सरी कक्षामा पढ्ने सोही ठाउँ बस्ने तेज बहादुर कार्कीको छोरा ३ वर्षीय समिर कार्कीको शुक्रबार दिउँसो मृत्यु भएको छ । स्कुल बसबाट झरेर घरतर्फ जाने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता सुर्खेतको बराहताल गाउँपालिका–५ स्थित सडकमा पंचपुरीबाट सुर्खेततर्फ जाँदै गरेको बा.८१प ९८४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बराहताल गाउँपालिका–५ बस्ने १५ वर्षीय चन्द्र बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी बाराको फेटा गाउँपालिका–३ फेटा नहरस्थित सडकमा ना.५८ प १३३१ नम्बरको मोटरसाइकल र बिआर ३० आर १३०१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा ना.५८ प १३३१ नम्बरको मोटरसाइकल चालक फेटा गाउँपालिका–३ फेटा बस्ने २७ वर्षीय रंजित साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बिआर ३० आर १३०१ नम्बरको मोटरसाइकलमा सवार ३ जनाको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  १० : ०८ बजे