कोहलपुर बाँके माघ ६- बैजनाथ गाउँपालिका खेलकुद विकास समितकोको आयोजनामा दोस्रो उप-प्रमुख कप बैजनाथ गाउँपालिका स्तरीय अन्तर खेलकुद प्रतियोगिता २०८० तथा राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ।
स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुदूभन्ने मूल नाराका साथ बैजनाथ गाउँपालिका ६ लालपुरमा रहेको खेलमैदानमा शनिबार सम्पन्न भएको हो ।
प्रतियोगितामा १५ स्वर्ण, १५ रजत र ७ कास्य गरी ३७ पदक सहित प्रभात माध्यमिक विद्यालयले प्रतियोगिताको रनिङ शिल्डको उपाधी जितेको हो ।
त्यस्तै ९ स्वर्ण, २ कास्य र ४ रजत गरी कुल १५ पदक हात पार्दै सुर्योदय माद्यामिक विद्यालय दोस्रो र ६ स्वर्ण, ३ कास्य र ५ रजत गरी कुल १४ पदक जित्दै हिमालय विद्या निकेतन विद्यालय तेस्रो भएको आयोजकले जनाएको छ ।
पालिका छनोट प्रतियोगितामा छनोट भएका खेलाडी जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेश स्तरीय छनौट प्रतियोगितामा सहभागी हुनेछन् भने प्रदेशमा छनौट हुँदै प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरीय प्रतियोगितामा सहभागी हुने खेलकुद विकास समिति सचिवालय सुरेन्द्र दाहालले जानकारी दिनु भएको छ ।
प्रतियोगितामा ९ वटै वडाका ४३ विद्यालयका विद्यार्थीको सहभागीता रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका खेलकुद विकास समिति संयोजक महाबिर थारुले बिजेता खेलाडीहरुलाई बधाई तथा शुभकामना दिदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेलाडी उत्पादन गर्ने पालिकाको मुख्य उदेश्य भएको बताउनु भयो ।
उहाँले विद्यालय स्तरमा खेल सुधारका लागि पालिकाले आगामी दिनमा विशेष बजेटको व्यवस्थापन गरि कार्यक्रम अघि बढाउने बताउनु भएको छ ।