कोहलपुर बाँके माघ १२, ( सङ्घीय सरकारले अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाएको मल बाटोबाटै हराएको छ । बाँकेको नरैनापुर–५ मटैयामा रहेको राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै हराएको हो ।
नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते बुझिलिएको दुई सय बोरा ९प्रतिबोरा ५० किलो० सङ्घीय सरकारबाट अनुदान प्राप्त भएको थियो । अनुदानमा दिइएको युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा मात्रै फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार छ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाइ पेस भएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा युरिया मल बाटोबाटै गायब भएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा वाणिज्य, कृषि ज्ञानकेन्द्र, कृषि सामग्री कम्पनीका प्रमुखसमेतको सहभागितामा बिहीवार गएको अनुगमन टोलीले नरैनापुरमा रहेको कृषि सहकारी ‘राप्ती कृषि सहकारी संस्था लिमिटेड’ नरैनापुर–५ को आकस्मिक अनुगमन गरेको थियो ।
सहकारीले प्रचलित कानुनविपरीतको कार्य गरेको पाइएकाले उपभोक्ताहित संरक्षण ऐनबमोजिम दुई लाख रुपैयाँ जरिबाना गरिएको प्रजिअ पोखरेलले बताउनुभयो । अहिले गोदाममा भएको ६४ बोरा अनुदानको मल सिल गरिएको छ भने गायब भएको एक सय ३० बोरा मलबारेमा सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सहकारीलाई निर्देशन दिइएको छ ।
अनुदानको मल तोकिएको सहकारीमार्फत तोकिएका क्षेत्रका किसानले पाए नपाएको सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्व टोलीले आकस्मिक अनुगमन गरेको हो । raasa