२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

सामुदायिक वनमा लागेको आगो निभाउन खोज्दा कालिकोटमा दुइ जना घाइते



कोहलपुर बाँके चैत ३, – कालिकोट खाँडाचक्र नगरपालिका–५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर दुई जना घाइते भएका छन् । गाउँ नजिकैको नवदुर्गा सामुदायिक वनमा लागेको आगो निभाउन पुगेका स्थानीय नन्दराम चौंलागाईं र उहाँकी छोरी हेमन्ती जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका निमित्त प्रमुख पोषण थापाले जानकारी दिनुभयो ।

चौलागाईंका बाबु–छोरी सामुदायिक वनमा बाख्रा चराउन गएका थिए ।

जिल्ला अस्पताल मान्ममा उपचारका लागि लगिएका नन्दरामको शरीर ६० प्रतिशत र हेमन्तीको ७० प्रतिशत भाग जलेको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । जिल्लामा प्राथमिक उपचारपछि थप उपचारका लागि स्वास्थ्यकर्मीसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाईएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ९ : १० बजे