७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

५ राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प



काठमाडौँ चैत ७-, सत्तारुढ ५ राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गरीएको छ । न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प तय गर्न बनेको १० सदस्यीय कार्यदल मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरीएको हो ।

राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डता, नेपाल राष्ट्र तथा नेपाली जनताको सर्वोपरी हितलाई केन्द्रमा राखी सुदृढ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्ने र प्रत्येक नेपालीलाई आफ्नो इतिहास र स्वाभिमान, सङ्घर्ष र वलिदान, परिवर्तन र उपलब्धिप्रति गौरवबोध गराउनको लागि ५ राजनीतिक दलले जोड दिएको छ ।

कार्यदलले शनिबार प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरूलाई साझा संकल्पको मस्यौदा हस्तान्तरण गरेको थियो । कार्यदलले बुझाएको मस्यौदालाई अन्तिम रूप दिएर मंगलबार सार्वजनिक गरिएको छ। राजनीतिक स्थायित्व, विकास र सामाजिक न्याससहित आर्थिक समृद्धिमा सङ्कल्प प्रस्ताव गरीएको छ ।

सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनका बीच सार्वजनिक उक्त साझा सङ्कल्पमा विद्यमान आर्थिक शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने, सङ्घीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधार गर्ने, भौतिक पूर्वाधार विकासमा अन्तर निकाय समन्वय मिलाउने, सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याइ मुलुकमा दिगो शान्ति कायम गर्ने, राष्ट्रियहितको रक्षा र स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति अङ्गीकार गर्ने उल्लेख छ ।

सङ्कल्पपत्रमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमालें) का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ६ : ०८ बजे