७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

वैशाख १ गतेदेखि काठमाण्डौ महानगरपालिकाले भवनको नक्सापास दुई चरणमा गर्ने




काठमाण्डौ चैत ११,– काठमाण्डौ महानगरपालिकाले आउँदो वैशाख १ गतेदेखि २ चरणमा भवन नक्सा स्वीकृत गर्ने भएको छ । महानगरपालिकाले जारी गरेको ‘भवन निर्माण मापदण्ड २०८०’, ‘भवन निर्माण सम्बन्धी कार्यविधि २०७५ को पहिलो संशोधन २०८०’ मा दुई चरणमा नक्सापास गर्ने उल्लेख छ ।

सुरक्षित भवन निर्माणका लागि प्लिन्थ लेभलसम्मको एक चरणमा र यसभन्दा माथिल्लो भागको अर्को चरणमा नक्सा स्वीकृत गर्ने महानगरपालिकाले जनाएको छ । सरकारी, अर्धसरकारी, बैङ्क तथा वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य भवन, संयुक्त भवन, व्यापारिक भवन निर्माण गर्दा अनिवार्य रुपमा आकस्मिक विपद व्यवस्थापन योजना पेश गर्नु पर्नेछ ।

भित्री सहरी क्षेत्रमा एक तला र बाहिरी वडामा २ तला बेसमेन्ट बनाउन सकिने व्यवस्था रहेको छ । १७ मिटर भन्दा अग्ला वा १० हजार स्क्वायरफिटभन्दा धेरै क्षेत्रफल भएका भवन बनाउँदा अनिवार्य भूप्राविधिक अनुसन्धान गर्नुपर्ने व्यवस्था गरेको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले बताउनुभयो ।

संरक्षित स्मारक उपक्षेत्रबाहेक अरु क्षेत्रमा जुनसुकै प्रयोजनका लागि ४ आनाभन्दा धेरै क्षेत्रफल भएको जग्गामा भवन निर्माण गर्दा २० प्रतिशत क्षेत्रफल पार्किङ् प्रयोजनको हुनुपर्नेछ । पाँच हजार वर्गफिटसम्म क्षेत्रफल हुने भवनको नक्सा वडाबाटै स्वीकृत गर्ने गरिएको छ ।

यसभन्दा धेरै क्षेत्रफल भएका भवनको नक्सा महानगरपालिकाबाट हुन्छन् । १० हजार वर्गफिटभन्दा धेरै क्षेत्रफल भएका भवनहरु निर्णायकहरुको मूल्याङ्कनबाट स्वीकृत गरिन्छ । भवन निर्माणका लागि आवदेन इलेक्ट्रोनिक बिल्डिङ्क परमिट सिस्टम ९इबीपीएस० बाट दिन सकिन्छ ।

यस प्रणालीबाट आवेदन दिइसकेपछि बायोमेट्रिक गर्नबाहेक अरु प्रक्रियाका लागि कार्यालय जानु पर्दैन । यस अघि नक्सा पास गर्दा, नामसारी गर्दा तथा निर्माण सम्पन्न प्रमाण पत्र लिँदा अनलाइनमा राखिएका कागजपत्रको फाइल बोकेर जानु पर्ने बाध्यता थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ५ : ३० बजे