७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

काठमाण्डौ महानगरपालिका र निजामती कर्मचारी अस्पतालबीच साझेदारी



काठमाण्डौ चैत २८, – काठमाण्डौ महानगरपालिका र निजामती कर्मचारी अस्पतालबीच जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्नका समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्राध्यापक डाक्टर विधाननिधि पौडेलले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । कार्यक्रम चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न हुनेछन् ।

समझदारी बमोजिम महानगरपालिकाले सिफारिस गरेका ७५ वर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिक, महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, जनप्रतिनिधि कर्मचारीको पूर्ण स्वास्थ्य जाँच परीक्षणसहितका काममा सहकार्य हुनेछ । ज्येष्ठ नागरिक उपचारका लागि अस्पतालमा छुट्टै परीक्षण कक्ष स्थापना गरेर ईसीजी, ब्लड सुगर, सीबीसी, एक्स–रेसहित १० प्रकारका प्रयोगशाला परीक्षण हुनेछ ।

यस्तै महानगरले प्रजनन उमेरका महिलाका लागि सञ्चालन गर्ने शिविरबाट पठाइएकाहरूको एचपीभी डीएनए परीक्षण, बायोप्सी, लिप परीक्षण र मेमोग्राम परीक्षण हुनेछ । साथै परिचय पत्र वा सिफारिसका आधारमा कर्मचारी र जनप्रतिनिधिका लागि बिहान ७ बजेदेखि साढे ८ बजेसम्म पूर्ण शारीरिक परीक्षण सेवा उपलब्ध हुनेछ । यसमा यूएसजी, ईसीजी, युरिन, युरिक एसिड, ब्लड सुगर, लिपिड प्रोफाइलसहित विभिन्न १६ प्रकारका प्रयोगशाला परीक्षण हुनेछ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १० : ०१ बजे