२१ मंसिर २०८१, शुक्रबार | Sat Dec 7 2024

बाँकेमा तापक्रम ४० डिग्री, सुख्खा हावाका कारण जनजीवन प्रभावित




कोहलपुर बाँके वैशाख १०-, नेपालगन्जमा केही दिनदेखि बढ्दै गइरहेको चर्को गर्मी र दिउँसोको समयमा चल्ने सुख्खा तातो हावाका कारण जनजीवन प्रभावित बनेको छ । यहाँको तापक्रम अधिकतम तापक्रम ४० डिग्री पुगेपछि बाहिर निस्कन र हिँडडुल गर्न समस्या भएको हो ।

चर्को गर्मी र तातो हावाका कारण दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई धेरै प्रभाव परेको छ । दैनिक रूपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदुरहरूलाई समस्या परेको हो । दिउँसोको तातो हावाका कारण मानिसहरू घरबाट बाहिर निस्किने गरेका छैनन् । अत्यावश्यक काममा हिँड्ने मानिसबाहेक सडकमा भिडभाड देखिँदैन । दिउँसोमा नेपालगन्जको सडक सुनसान जस्तो देखिन्छ ।

त्यसै गरी ग्रामीण क्षेत्रतिर पनि स्थानीयले खेतबारीको काम साँझ र बिहान गर्ने गरेका छन् । तातो हावा ग्रामीण भेगमा पनि चल्दा त्यहाँका स्थानीय पनि यसको मारमा परेका छन् । खेतबारीमा पाकेको गहुँ स्थानीयले साँझ र बिहानको समयमा काट्ने गरेका छन् ।

दिउँसोको समयमा सुनसान जस्तो देखिने नेपालगन्जको बजार साँझको समयमा भने भिडभाड हुने गरेको छ । साँझको समयमा विभिन्न चोक तथा पसलहरूमा काँक्रो, तर्भुज, खर्भुज, लस्सी, आइसक्रिम, कुल्फी तथा चिसो पेय पदार्थहरू सेवन गर्ने सर्वसाधारणको सङ्ख्या उल्लेख्य देखिन्छ ।

केही दिनदेखि नेपालगन्जमा तातो हावा चले पनि यसलाई ‘लु’ भने भन्न नमिल्ने बताउनुहुन्छ जल तथा मौसमविज्ञान विभाग फिल्ड कार्यालय नेपालगन्जका फिल्ड इन्चार्ज मिना सिवाकोटी । “केही दिन यता तातो हावा चल्न सुरु गरेको छ, तातो हावाका कारण जनजीवन कष्टकर हुँदै गएको छ तर यसलाई ‘लु’ भन्न मिल्दैन ।” उहाँले भन्नुभयो, “दुई तीन दिनसम्म तापक्रम एउटै रेसियोमा हुनुपर्‍य ो ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम हुनुपर्‍य ो अनिमात्र त्यसलाई ‘लु’ भन्न सकिन्छ ।”

उहाँका अनुसार आइतबार नेपालगन्जको अधिकतम तापक्रम ३८ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो । शनिवार नेपालगन्जको अधिकतम तापक्रम ४० दशमलव ७ डिग्री सेल्सियस मापन भएको थियो । तापक्रम बढ्ने तथा घट्ने क्रममा देखिन्छ । अझै एक हप्तासम्म पानी पर्ने सम्भावना छैन । नेपालगन्जमा चर्को गर्मी र तातो हावाबाट जनजीवन अझै धेरै कष्टकर बन्ने देखिन्छ ।

चर्को गर्मी र तातो हावाका कारण सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । अत्यावश्यक काम भएका सेवाग्राहीहरू मात्र कार्यालयहरूमा आउने गरेका छन् । “केही दिनदेखि बढेको गर्मी र तातो हावाका कारण कार्यालयहरूमा आउने सेवाग्राहीको सङ्ख्या पातलिएको छ ।” बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भन्नुभयो, “अत्यावश्यक काममा आउने सेवाग्राहीहरू मात्र सेवा लिन आउने गरेका छन्, ।”

चर्को गर्मी र तातो हावाका कारण बिरामी हुनेको सङ्ख्या पनि बढेको छ । पछिल्ला केही दिनदेखि भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप बढेको बताउनुहुन्छ भेरी अस्पतालका सूचना अधिकारी एवम् वरिष्ठ फिजिसियन डा।सङ्केत रिसाल । “विशेष किसिमको कर्ण मिसिएको धुलो उडिरहेको छ, यसले गर्दा दम, फोक्सो, छाला, पेटसम्बन्धीका बिरामीहरूको चाप ह्वात्तै बढेको छ ।” डा। रिसालले भन्नुभयो, “खाना नपच्ने, पखाला, छालालगायतका बिरामीहरू धेरै देखिएका छन् ।”

तातो हावाले सामान्य मानिसलाई पनि असर गर्ने तर बढी मात्रामा कोभिड भएकाहरू, दम र फोक्सोका बिरामीहरूलाई बढी असर गरेको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिक, बालबालिका तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूलाई बढी प्रभाव पर्ने भएको हुँदा यसबाट उहाँहरूलाई बचाउनका लागि रेखदेख तथा स्याहारसुसारमा ध्यान दिनुपर्ने र अत्यावश्यक बाहेकका काममा घरबाहिर ननिस्कने, निस्किनै परे पुरै शरीर ढाक्ने कपडा लगाउने, मास्कको प्रयोग गर्ने, पानी तथा झोलिलो पदार्थहरू प्रशस्त मात्रामा पिउनुपर्ने डा। रिसालको भनाइ छ ।

दिउँसो १२ बजेपछि बेलुका लगभग ५ बजेसम्मको समयमा नेपालगन्जमा अत्यधिक चर्को गर्मी हुने र सुख्खा तातो हावा चल्ने गरेको छ । चर्को गर्मी र सुख्खा तातो हावाका कारण नेपालगन्जको जनजीवन कष्टकर बन्दै गएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ५ : ५९ बजे