७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

दाङमा २४ घर जलेर नष्ट



दाङ वैशाख १६- दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन्। सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताए।

सो गाउँमा २५ वटा घर थिए। तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन्। आज दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो। आगलागी भएका सबै घर खरले छाइएका थिए। जस्ताले बनाएको मानबहादुर गिरीको घर बाहेक सबै घर जलेका हुन्।

नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको हो। स्थानीयवासीले आगो निभाउने प्रयास गरे पनि सम्भव नभएपछि गाउँ नै सखाप भएको स्थानीय भीम वलीले बताए। यहाँको वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ३ : ३२ बजे