७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आजाबाट अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालित रूपमा पठाउने प्रणाली सुरु



काठमाण्डौ जेठ १, – सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालित रूपमा पठाउने प्रणालीको शुरुवात भएको छ । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले आज नयाँ सेवाको शुभारम्भ गर्दै अनलाइनबाट मुद्दा दर्ता गर्न पाउँदा दूरदराजका मानिसलाई सहज, सरल र सुविधा हुने विश्वास व्यक्त गर्नुभयो ।

सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले तयार गरेको अनलाइनबाट मुद्दा दर्ता प्रणालीको विस्तारै उच्च र जिल्ला अदालतमा पनि लागू गर्ने तयारी रहेको उल्लेख गर्दै प्रधानन्यायाधीश श्रेष्ठले यो उपलब्धिलाई सफल पार्नका लागि सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।

अनलाइन प्रणालीकोे प्रयोगबाट मुद्दा दर्ता गर्न भौतिक रूपमा अदालतमा उपस्थित हुन नपर्ने, अदालतभन्दा टाढा रहेरसमेत फर्ममार्फत मुद्दा दर्ता गर्न सकिने, मुद्दा दर्ता गर्न अदालतमा उपस्थित हुँदा लाग्ने समय तथा लागत न्यूनीकरण हुने अपेक्षा गरिएको प्रधानन्यायाधीस श्रेष्ठले बताउनभयो ।

प्रणाली प्रयोग गरी मुद्दा दर्ता गर्दा प्रणाली प्रयोग गरेबापत कुनै शुल्क भुक्तानी गर्न नपर्ने, मुद्दा दर्तालगायतका काम क्रमशः कागजविहीन हुँदै जाने, डिजिटल मिसिल निर्माण भई अभिलेख व्यवस्थापनमा सहजता आउने अपेक्षा अदालतले गरेको छ । प्रणाली लागू भएपछि अदालतमा भीडभाड कम हुने, अदालतमा सेवाग्राहीको भौतिक उपस्थिति न्यूनीकरण हुने सर्वोच्चले जनाएको छ ।

पेसीको सूचना स्वचालित रूपमा पठाउने प्रणाली कागजी रूपमा पेसीको सूचना पठाउँदा लाग्ने समय र जनशक्ति कटौती गर्न सहयोग पुग्ने, मितव्ययी रूपमा सेवा सञ्चालन गर्न सम्भव हुने अदालतले अपेक्षा गरेको छ । त्यस्तै पेसीको सूचना पठाएको, पाएकोलगायतका विवरण प्रणालीमै रहने तथा जुनसुकै बेला प्रणालीबाटै हेर्न सकिने अवस्था हुँदा पेसी व्यवस्थापनमा सहजता आउने, इजलासको समय बचत हुने र अभिलेख व्यवस्थापन सहज हुने सर्वोच्चले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १२ : ४४ बजे