कोहलपुर बाँके जेठ १३, बाँकेको बैजनाथ गाउँपालिकाले कृषिमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गरेको छ । पालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बैजनाथ गाउँपालिकालाई देशभरका ७ सय ५३ वटा स्थानीय तह भन्दा फरक ढङ्गले कृषि क्षेत्रमा काम गरेको दाबी गरे ।
उनले स्थानीय नागरिकलाई आफैमा आत्मनिर्भर बनाउनको निम्ति बैजनाथ गाउँपालिकाले किसानसंँग पालिका प्रमुख कार्यक्रम संचालन गरेको र उक्त कार्यक्रमका लागि पालिकाले ‘बिग बजेट’ बिनियोजन गरेको बताए ।
उनले भने–‘बैजनाथ गाउँपालिकाका ७० प्रतिशत नागरिक कृषि पेशामा आवद्ध छन् । किसानलाई कृषि मै आत्मनिर्भर गराउनको लागि बैजनाथ गाउँपालिका किसानको घरदैलोमा पुगेर किसानको आत्मबल बढाउने गरेको छ ।’ बैजनाथ गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिएर निरन्तर काम गर्दै आएको कारण किसानको गुनासोलाई समाधान गर्नको लागि पालिका किसानको घरदैलो मै पुग्ने गरेको उनको भनाई थियो ।
७० प्रतिशत पालिकाको लगानीमा किसानलाई अनुदानको कार्यक्रम बितरण गर्दै आएको छ । जसले गर्दा किसानलाई कृषि कर्म गर्न सहज भएको छ ।
बैजनाथ गाउँपालिकाले वडा नम्बर २ र ३ लाई मकै पकेट क्षेत्र र ७ र ८ लाई तरकारी पकेट क्षेत्र घोषणा गरेको छ । गाउँपालिकाले उत्पादनका आधारमा खेतीयोग्य जमिनलाई पकेट क्षेत्र बनाई उत्पादन बढाउनका लागि ४ वटा वडालाई पकेट क्षेत्रका रूपमा विस्तार गरेको पालिका अध्यक्ष शाहीले बताए ।
स्थानीयलाई अनुदान प्रदान गर्ने र व्यावसायिक बनाउनेतर्फ गाउँपालिका लागेको बैजनाथ गाउँपालिकाका अध्यक्ष शाहीले बताए । उनले पालिकाका किसानलाई आधुनिक तरिकाले खेती गर्न प्रेरित गर्ने आफ्नो लक्ष रहेको अध्यक्ष शाहीले जानकारी दिए ।
कृषकलाई आवश्यक बिउबिजन, तालिम तथा परामर्शसँगै प्रविधिसँग जोड्न थालेको बनाउँदै खेतीयोग्य जमिन वर्गीकरण गरि कृषकका लागि अनुदानसँगै सिँचाइ व्यवस्थापन गर्न गाउँपालिकाले दीर्घकालीन योजना बनाएर लागेको उनको भनाइ छ ।
बैजनाथ गाउँपालिकाका कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले आवश्यकता आधारमा यहाँका प्रत्येक किसानका लागि समय समयमा कृषि र पशु पालनतर्फ विभिन्न तालिम, गोष्ठि र कार्यक्रमहरु संचालन गर्दै आएको बताए ।
किसानका लागि बैजनाथ गाउँपालिकाले उत्कृष्ट कार्य गरेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ जिगौरामा कृषि फर्म संचालन गर्दै आउनु भएका जगनारायण थारूले बताउछन् । ‘हामी किसानका लागि पालिकाले अनुदानका कार्यक्रम मार्फत कृषि पेशामा आवद्ध गराउनमा प्रेरित गरेको छ । खेति गर्दा हामीले नजानेका कुरा पालिकाले तालिम प्रदान गरी सहयोग गरेको छ’– उनले भने ।
यस्तै कृषि पेशामा आवद्ध भएर बैजनाथ गाउँपालिका वडानं। ६ मा दिदीबैनी पशुपालन फर्म संञ्चालन गर्दै आएकी गिता कुमारी पुनले दूध बिक्रीबाट राम्रो आम्दानी हुँदै आएको बताईन । ‘अहिलेसम्म राम्रो व्यवसाय भइरहेको छ । अहिले दैनिक ४० लिटर दूध सङ्कलन हुन्छ । संकलन भएको दुध बाँकेको बिभिन्न डेरीमा पठाउने गरेको छु’–उनले भनिन । उनले पालिकाले किसानसँग पालिका अध्यक्ष कार्यक्रम सञ्चालन गरेर आफहुरु जस्ता किसानलाई ठूलो सहयोग पुराएको बताईन ।