७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

भेटिएन पाटेबाघः हात्तीसहितको टोली परिचालन




कोहलपुर बााके जेठ १३ – बाँसगढी नगरपालिका–४, बठुवास्थित जनचेतना सामुदायिक वनमा महिलामाथि आक्रमण गर्ने बाघ पत्ता लाग्न सकेको छैन । शनिबार बर्दिया राष्ट्रिय निकुञ्जका दुई हात्तीसहित डार्ट टोलीले सर्च गर्दा पनि सामुदायिक वनमा बाघ कतै नभेटिएको हो । बाघ नभेटिएपछि आज आइतबारदेखि खोजीकार्य तीव्र पारिने भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय गुलरिया र इलाका प्रहरी कार्यालय बाँसगढीको संयुक्त टोलीले दुई हात्तीसहित शनिबार १० बजेदेखि खोजीकार्य थालेको थियो । तर सामुदायिक वनमा बाघ कतै नदेखिएको बाँसगढी नगरपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले जानकारी दिए ।

४र५ घन्टा खोजी गर्दा पनि बाघ नभेटिएपछि आइतबार थप हात्ती ल्याएर अन्य वनहरूमा पनि बाघको खोजी गरिने भएको छ । हात्तीसहितको डार्ट टोली अहिले सब–डिभिजन वन कार्यालय बाँसगढीमा छ । ‘खोज्दाखोज्दै हात्ती पनि थाके, शनिबार बाघ कतै देखिएन,’ वडाध्यक्ष बाँस्तोलाले भने, ‘बाघ नियन्त्रणमा लिन घटनास्थलनजिक दुईवटा पाडा राख्ने निर्णयसमेत भएको छ ।’

बाघलाई नियन्त्रणमा लिन पाडा राख्ने गरिएको छ । साँझदेखि घटनास्थलनजिक पाडा राख्ने र त्यसरी पनि पत्ता नलागे खोजीकार्यलाई अझ तीव्र पारिने उनले बताए । सर्च टोलीले शनिबार घटनास्थल वरपरका वनमा सर्च गरेको थियो । मगरपुर, भकारी, शंखरियालगायत वरपरका वनमा खोजी गर्दा पनि बाघ कतै नदेखिएको वडाध्यक्ष बाँस्तोलाले जानकारी दिए ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारी पनि शनिबार बिहानैदेखि बाघको खोजीकार्यमा खटिएका थिए । बाघ नियन्त्रणका लागि आफूहरूले प्रयास गरिरहेको प्रमुख प्रवीण बिडारीले बताए ।

‘बाघ नियन्त्रणमा लिन डार्ट टोलीसहितको सर्र्च अप्रेसन जारी छ,’ उनले भने, ‘वन, निकुञ्ज र प्रहरीको संयुक्त टोली बाघ नियन्त्रणका लागि खटिरहेको छ ।’ बिहीबार ट्र्यापिङ क्यामेरामा देखिएको बाघ शुक्रबारदेखि भने क्यामेरामा पनि देखिएको छैन ।

बच्चासहितको बाघ देखिएको भन्ने कुरा निराधार भएको बिडारीको भनाइ छ । ‘बच्चासहितको बाघ भन्ने कुरा कतैबाट पनि पुष्टि हुँदैन,’ उनले भने, ‘अस्ति क्यामेरामा पनि एउटा मात्रै बाघ देखिएको छ । बाघका बच्चा देख्यौँ भन्ने स्थानीय पनि कोही भेटिएनन् ।’

क्यामेरामा देखिएअनुसार सो बाघ वृद्ध पोथी भएको र अन्य जनावरलाई आक्रमण गर्न नसकेर सिकार खोज्दै मानव बस्तीतिर आएको हुनसक्ने उनले बताए । ‘जहाँ महिलामाथि आक्रमण भएको छ, त्यो बाघ बस्ने एरिया होइन,’ उनले भने, ‘कहिलेकाहीँ झुक्किएर त्यहाँसम्म आइपुगेको हुनसक्छ ।’

यदि ‘म्यान इटर’ ९मान्छे खान पल्केको० बाघ हो भने त्यो चिन्ताको विषय भएको उनले बताए । ‘म्यान इटर’ भएर त्यो मानिसको खोजी गर्दै आएको हो कि भन्ने आशंका भएकाले स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएको उनले जानकारी दिए ।

बाघको आक्रमणबाट बिहीबार दिउँसो बाँके बैजनाथ गाउँपालिका–८ हस्नापुरकी ३५ वर्षीया मनीषा रोकायको ज्यान गएको थियो । मृतक रोकाय बाँसगढी नगरपालिका–४ बठुवास्थित आफ्नी दिदीको घर जाने क्रममा बाघ आक्रमणमा परेकी थिइन् ।

बाघ आक्रमणबाट महिलाको मृत्यु भएपछि बिहीबारै क्यामेरा ट्र्यापिङ गरेर बाघ खोज्ने काम सुरु गरिएको थियो । बिहीबार बेलुकीसम्म स्थानीयले बाघलाई सोही क्षेत्रमा देखेका थिए ।

बाघ आक्रमणमा परी महिलाको मृत्यु भएपछि घटनास्थल वरपरका बासिन्दा त्रसित छन् । उनीहरूले चाँडोभन्दा चाँडो सो बाघ नियन्त्रणमा लिन सरोकारवाला निकायसँग आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ५ : ४५ बजे