काठमाण्डौ असार १२, – कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कैद कट्टा सिफारिशमाथि उजुरी आह्वान गरेको छ । यस वर्ष छ सय २० जना कैदीबन्दीको कैद कट्टाका लागि सिफारिश गरेको जानकारी गराउँदै विभागले कैद कट्टाको सुविधाका लागि सिफारिश भएकाहरूमा कुनै कैफियत भएमा उजुरी दिन आह्वान गरेको विभागका निर्देशक कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
गृह मन्त्रालयको जेठ २२ गतेको पत्रानुसार छ सय २० जना कैदीबन्दीको निवेदनसहितको विवरण सम्बन्धित कारागार प्रशासक र प्रमुख जिल्ला अधिकारीबाट सिफारिश प्रमाणित भई आएको उहाँले बताउनुभयो । यही असार १५ गतेसम्म उजुरी दिन सकिनेछ ।
सरकारको सिफारिशमा हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैदकट्टाको सुविधा दिने चलन छ ।