७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एकीकृत समाजवादीमा बाँकी पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने जिम्मा नयाँ कमिटीलाई



काठमाण्डौ असार २२, – एकीकृत समाजवादीले अपुरो कमिटी चयन गर्दै महाधिवेशन सकेको छ । पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी धेरै भएपछि सर्वसम्मत चयन गर्न समस्या भएको हो ।

पार्टी विधानअनुसार २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नुपर्नेमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी मात्रै सर्वसम्मत चयन भएको छ ।

पोलिटब्युरो सदस्य प्रेम आले भने ९३ जनाको सूचीमा पर्नुभएको छैन । महाधिवेशनले बाँकी पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी नवनिर्वाचित केन्द्रीय कमिटीलाई दिएको छ ।

यसैबीच एकीकृत समाजवादीले कांग्रेस र एमालेको नयाँ समीकरणलाई दक्षिणपन्थी अवसरवादको संज्ञा दिएको छ । महाधिवेशनबाट पारित प्रस्तावमा कुनै सिद्धान्तविना कांग्रेस र एमाले मिल्नुलाई अस्थिरता निम्त्याउने खेल भनिएको छ ।

महाधिवेशनले भ्रष्टाचारविरोधी आन्दोलनमा जुट्न पार्टीपंक्तिलाई आह्वान गर्दै भ्रष्टाचारीलाई कारबाही गर्न सरकारसँग माग पनि गरेको छ ।

प्रकाशित मिति : २३ असार २०८१, शनिबार  ९ : ११ बजे