९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

कर्णाली राजमार्गको पहिरो पन्छाउन समस्या



कर्णाली असार २३ – अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालीकोटको हुल्ममा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । निरन्तर वर्षात् भइरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ ।

सोही राजमार्गको कालीकोट तिलागुफा नगरपालिका–६ टिमुरे, गाल्जे र पिलिलगायतका ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ । साँझसम्म सडक सञ्चालनमा आउने गरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईले जानकारी दिए ।

प्रदेशका मुख्य पाँच राजमार्ग कर्णाली, मध्यपहाडी, मदन भण्डारी, राप्ती राजमार्ग र भेरी करिडोरका सडक अवरुद्ध छन् । कर्णाली राजमार्गमा चार, मध्यपहाडीमा चार र राप्ती राजमार्गमा दुई, मदन भण्डारीमा एक र भेरी करिडोरका तीन ठाउँमा बाढीपहिराले सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा पहिरो गएको छ । राजमार्गहरू अवरुद्ध भएपछि दुई दिनदेखि यात्रु अलपत्र परेका छन् ।

प्रकाशित मिति : २४ असार २०८१, आइतबार  ९ : १८ बजे