७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

राजस्व लक्ष्य भेट्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन




भैरहवा माघ २४, अर्थमन्त्री डा। प्रकाशशरण महतले कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिनुभएको छ। बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा। महतले भन्नुभयो, ‘‘राजस्वको लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नुहोस्।’’

उहाँले जिम्मेवारीबाट पन्छिने छुट कसैलाई नभएको बताउनुभएको छ। ‘‘उच्च कर्तव्यनिष्ठताका साथ कर्मचारीले काम गर्न निर्देशन दिँदै मन्त्री डा। महतले भन्नुभयो, ‘‘यो जिम्मेवारी जोकोहीले पाएको छैन, धेरै मान्छे हाम्रो राज्य संयन्त्रको अङ्ग हुन पाएका छैनन्। मेरो पनि त्यत्तिकै योग्यता थियो, हामीले पनि केही जिम्मेवारी पाए हुन्थ्यो भन्ने थुप्रै नागरिक छन्। प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलबभत्ताबाट तपाईँहरू सन्तुष्ट हुनुपर्छ। मलाई यसले पुगेन, योभन्दा मलाई ठुलो चाहिन्छ कसैले भन्छ भने उसले त्यो ठाउँ छोड्नुपर्छ। जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन।’’

भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन, अन्य निकायसँग राम्रो समन्वय गर्ने, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्ने, छिटो भन्सारलाई सिस्टममा राख्न र जिम्मेवारीलाई उच्च सर्तकताका साथ निरन्तर खबरदारी गर्ने कर्मचारीलाई निर्देशन दिनुभयो।

उहाँले कर्मचारीको क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला सरुवा गर्न सकिने बताउनुभयो। ‘‘मैले कर्मचारीलाई अविश्वास गर्न खोजेको होइन। तर कर्मचारी एक वर्ष नभई सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन। क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला पनि सरुवा हुनसक्छ’’ मन्त्री महतले भन्नुभयो।

अहिले सहज भएको अवस्थाभन्दा कोभिडमा असहज भएका बेलामा भन्सार बढी उठेको विषयलाई व्याख्या गर्न नसकिने भन्दै डा। महतले भन्नुभयो, ‘‘गाडी आयात कम भयो भन्ने कुरा आएको छ, तर त्यो मात्र कारण हुन सक्दैन। त्यो कुरामा कर्मचारीले गम्भीर भएर ध्यान दिनुहोला’’, डा। महतले भन्नुभयो, ‘‘चोरी पैठारी रोक्न भन्सार नाकामा खटिने सबै तहबिच एक अर्काको राम्रो समन्वय हुनुपर्छ।’’

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ११ : ४२ बजे