७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बाँकेको खजुराका लाकुरेको परिवारलाई सहयोग



कोहलपुर बाँके, फागुन ७ बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरमा अस्थायी रूपमा बसोबास गर्दै आउनुभएका लाकुरे दमाईको परिवारका लागि आवश्यक खाद्य सामग्री सहयोग गरिएको छ ।

जीवनको ऊर्जाशील समय वर्गीय मुक्ति आन्दोलन र समाज परिवर्तनको अभियानमा बिताउनुभएका ५९ वर्षीय लाकुरेको अस्थायी बासमा अन्नपात नभएको समाचार गोरखापत्रमा प्रकाशित भएको थियो ।

खजुरा गाउँपालिकाले तत्काल केही समयका लागि पुग्नेगरी चामल, दाल, तेल, तरकारीलगायतका अन्य आवश्यक सामग्री उपलब्ध गराएको वडा २ का वडा अध्यक्ष धनीराम वलीले जानकारी दिनुभयो । विपन्न आर्थिक अवस्थाका लाकुरे बिरामी परेर थलिएपछि झन् समस्या थपिएको छ ।

वडाध्यक्ष वलीले भन्नुभयो, ‘पालिका तर्फबाट तत्काल खाद्यान्न सहयोग गरेका छौँ, सामूहिक भवनमा राख्ने प्रक्रिया पनि अघि बढाएका छौँ ।’ खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक, उपाध्यक्ष मञ्जु मल्ल लाकुरे बस्दैआएको घरमै पुगेर सहयोग प्रदान गर्नुभयो । अध्यक्ष विकले प्रजातान्त्रिक योद्धाको अवस्था दयनीय देखिएको भन्दै पालिका तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लाकुरे कलेजो, मधुमेह, मिर्गौला र मुटु रोगबाट पीडित रहनुभएको छ । भाडामा बस्दै आउनुभएका उहाँसँग भाँडा तिर्ने र विद्युत महसुल समेत बुझाउने रकम छैन । लाकुरेले बस्दैआएको घरको एक वर्षसम्मको विद्युत महसुल गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले तिरिदिनुभएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ११ : ०६ बजे