६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

ड्युटीका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई आर्थिक सहयोग



कोहलपुर बाँके पुस ६ ।

गत मंसिर २८ गते राति कोहलपुरको मदनचोकमा ड्युटीका क्रममा सवारी दुर्घटनामा ज्यान गुमाएका प्रहरी जवानका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १३ छिवाङ घर भएका २९ वर्षीय विशाल ओलीको जिपको ठक्करबाट मृत्यु भएको थियो ।

मृतक ओलीका परिवारलाई सहकर्मीहरूले आर्थिक सहयोग गरेका हुन् । बाँकेमा कार्यरत प्रहरी कर्मचारीले संकलन गरेको २ लाख ५७ हजार ९ सय ८८ रुपैयाँँ स्वर्गीय ओलीको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो ।

उनीप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत समेतमा कार्यरत प्रहरी अधिकृत, हवल्दार तथा जवानहरूले रकम संकलन गरेका थिए ।

त्यसरी संकलन भएको रकम जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगी र इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारी स्वर्गीय ओलीको घर रुकुम पश्चिम पुगेर आश्रित परिवारलाई रकम हस्तान्तरण गरेका हुन् ।

मदनचोकमा ड्युटीका क्रममा प्रहरी जवान ओलीलाई ठक्कर दिएर फरार रहेको जिप र त्यसका चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ३ : ४९ बजे