६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

कोहलपुर ९ मा ऐलानी जग्गाको नापजाँच आजबाट सुरु




कोहलपुर बाँके पुस ७ ।

बाँकेको कोहलपुर नगरपालिका ९ मा ऐलानी जग्गाको नापजाँच कार्य आजबाट सुरु गरिएको छ । शनिबार एक औपचारीक कार्यक्रम गरी कोहलपुर ९ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रति ऐलानी जग्गाको नापजाँच सुरु गरिएको हो ।

कोहलपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगीले पश्चिम रोडको चटार क्षेत्रबाट जग्गाको नापजाँच सुरु भएको बताए । जग्गाको नापजाँच र निस्सा वितरण सँगसँगै गरिने वडा अध्यक्ष योगीले जानकारी दिए ।

अध्यक्ष योगीका अनुसार निस्साको प्रमाणपत्र प्राप्त गरेकाहरुको नगरपालिकाबाट खटिएको प्राविधिक टोलिले जग्गा नापजाँच गर्ने बताए । त्यसका लागिे निस्सा प्रमाणपत्र संगै लिएर बस्न वडा अध्यक्षले वडाबासीलाई आग्रह गरेका छन् ।

वडा अध्यक्षले निस्सा प्रमाणका लागि घरधुरी कर बुझाएको प्रमाण लिएर वडा कार्यालयमा आउन वडाले सबैलाई आग्रह समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष योगीका अनुसार वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी घरधुरी एक हजार बढी रहेको बताए ।

जसमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासी ७० जना, ७७ जनाले फारम भरेपनि ७ जनाको अन्यन्त्र पनि जग्गा रहेको पाइएपछि मालपोत कार्यालयले ७० जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासी रहेको प्रमाणित गरेको वडा अध्यक्ष ओपेन्द्र नाथ योगीले जानकारी दिए ।

त्यसैगरी ९५१ जना अव्यवस्थित बसोबासीले फारम भरेका छन् । यसअघि ८३५ जनाले मात्रै अव्यवस्थित बसोबासीले फारम भरेपनि पछिल्लो पटक राष्ट्रिय भूमि आयोगले भदौ २९ गते ३५ दिने सूचना जारी गरेर छुटपुटलाई फारम भर्न समय दिएको थियो । त्यसक्रममा वडा नं.९ मा थप ११६ जनाले फारम भरेको वडा अध्यक्ष योगीले बताए ।

यस्तै कोहलपुर नगरपालिकामा करिव २० हजार घरधुरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार ती घरधुरीलाई लालपूर्जा वितरणको तयारीसहित पालिकाले जग्गा नापजाँचको कामलाई तीब्रता दिएको बताए ।

‘करिव २० हजार घरधुरीलाई लालपूर्जा वितरण गर्ने तयारीका साथ जग्गा नापजाँचको कामलाई तीव्रता दिइएको छ उनले भने–‘चालू आर्थिक वर्षसम्म जग्गा नापजाँचको सम्पूर्ण काम पूरा गर्ने योजना छ ।’ कुनै पनि नागरिक भूमिहीन भएर बस्न नपरोस् भन्ने संघीय सरकारको नीति रहेको र त्यही अनुसार राष्ट्रिय भूमि आयोगले समेत काम गरिरहेकाले पालिकाले पनि संघीय सरकारको नीति र भूमि ऐनलाई टेकेर काम गरिरहेको उनको भनाइ छ ।

नगर उपप्रमुख संगिता सुवेदीले वन र भूमि ऐनबीचको टकरावले केही समस्या भएपनि यो प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाइएको बताइन् । उनले विगतमा जस्तो नापी हुने तर लालपूर्जा वितरण नहुने समस्या योपटक नहुने भन्दै आफ्नै कार्यकालमा लालपूर्जा वितरण गरिने प्रतिबद्धता समेत गरिन् ।

नगरपालिकाले गतवर्षदेखि कोहलपुर नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रति ऐलानी जग्गाको नापजाँच सुरु गरेको हो ।

जग्गा नापजाँचकै लागि पालिकाले एक करोड बजेट खर्च गरिरहेको उनले बताइन् । त्यसैगरी राष्ट्रिय भूमि आयोगका जिल्ला सदस्य अशोक पोख्रेलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई छिटोभन्दा छिटो जग्गा धनी पूर्जा वितरणको महाअभियानमा आयोग लागिरहेको बताए ।

उनले यसअघि बनेका अन्य आयोग भन्दा राष्ट्रिय आयोग अधिकार सम्पन्न आयोग भएकाले यो पटक जग्गाधनी पूर्जा प्राप्त हुदैन की भन्ने शंका नगर्न सबैलाई आग्रह गरे ।

‘यसअघि पनि आयोगहरु नबनेका होइनन् उनले भने–‘तर ती आयोग भन्दा यसको प्रारुपनै फरक छ । कार्यविधि सहित अधिकार सम्पन्न आयोग भएकाले यो पटक ढुक्क भएर लालपूर्जा पाउनुहुन्छ ।’ उनले आफ्नै कार्यकाल र अहिलेकै जनप्रतिनिधिहरुबाट लालपूर्जा वितरण गर्ने महाअभियानमा आयोग अगाडि बढेको पनि उल्लेख गरे ।

अन्य पालिका भन्दा कोहलपुर नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रति ऐलानी जग्गाको नापजाँच सुरु छिटोछरितो गर्दै आएको भन्दै लालपूर्जा वितरणको काम पनि कोहलपुरमा छिट्टै उनले बताए ।

अहिलेसम्म कोहलपुरका १, २, ५, ८,१० र १२ नम्वर वडाको नापजाँच पूरा भएको छ । वडा नं.३, ११, १४ को अन्तिम चरणमा पुगेको छ । अव वडा नं.१४ को नापजाँच सकियो भने वडा नं.१३ को नापजाँच सुरु हुने छ भने वडा नं.११ को नापजाँच सकियो भने वडा नं.३ को नापजाँच सुरु गरिएको नगरस्तरीय भूमिहीन सम्वन्धी उच्च स्तरीय समितिका संयोजक वीरेन्द्र कुमार शाहले बताए ।

उनका अनुसार शनिवार वडा नं.१५ को नापजाँच पनि सुरु गर्ने तयारी छ । त्यसपछि वडा नं.४, ६ र ७ को नापजाँच गरिने शाहले बताए । वडा नं.९ को जग्गा नापजाँच उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रवक्ता तथा वडा नं.१४ का वडा अध्यक्ष नमबहादुर आले, वडा नं.८ का वडा अध्यक्ष लालबहादुर राना, १३ का वडा अध्यक्ष डम्वर खड्का, १५ का वडा अध्यक्ष दीपेन्द्र चौधरी, आर्थिक विकास समिति संयोजक अनिता बुढा, सुशासन समिति संयोजक सुनिता विष्ट, विभिन्न राजनीतिक दलका स्थानीय नेताहरु, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  १० : १० बजे