७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

श्रीमान खोज्न हिँडेकी ७ महिनाकी गर्भवतीलाई बाढीले बगायो




दाङ असार १९- दाङको तुलसीपुर उपमहानगरपालिका–१४ मटेराकी १९ वर्षीया सम्झना चौधरी बुधबार बिहानै श्रीमान खोज्न निस्किनु भएको थियो ।सम्झनाले अंकलको ७ वर्षीय छोरा रोहनलाई पनि साथमै लिएर श्रीमान रोशन चौधरीको खोजीमा निस्किनु भएको थियो।

२० वर्षीय रोशन मंगलवारराति घर आउनुभएको थिएन् । उहाँको मोबाइलमा सम्पर्क पनि हुन सकिरहेको थिएन। त्यसैले सम्झना एकाबिहानै श्रीमानको खोजी गर्न भन्दै छोरा रोहनलाई साथमा लिएर जानु भएको थियो ।

रोशनको फुपूको घर बबई नदी पारी थियो। सम्झनाले पक्कै पनि श्रीमान फूपुको घर गएको हुनुपर्छ भन्ने लख काट्नुभयो। सम्झना ७ महिनाकी गर्भवती हुनुहुन्थ्यो ।

जिल्लामा भइरहेको वर्षाका कारण बबई नदीमा बाढी आएको थियो। श्रीमानको सुर्तामा हिँडेकी सम्झनालाई त्यो बबईको बाढी सामान्य लाग्यो। सजिलै तर्छु भन्ने विश्वास थियो होला। छोरा रोहन र सम्झना सँगै बबई तर्न थाल्नुभयो। यो बिहान ८ बजेतिरको कुरा हो। थोरै मात्रै के पाइला चाल्नु भएको थियो रोहनको कम्मरमाथि बाढी पुग्नै लाग्यो। सम्झनाले रोहनलाई पछाडि हुत्याउँदै फर्किएर किनारमा जान भन्नुभयो। सायद बाढी ठूलो भएका कारण रोहनलाई कसरी तारौंला भन्ने सोच उहाँको मनमा आयो होला।

सम्झनाको कुरा सुनेर रोहन किनारतिर फर्किन थाल्नुभयो। तर, सम्झनालाई अझै पनि त्यो बबईको बाढी सजिलै तर्न सक्छु भन्ने लागेको थियो। रोहनले जसै फर्किएर नियाले सम्झना डुब्दै तैरिँदै गरेको देख्नुभयो । बालक रोहन कराउनुभयो। गुहार माग्नुभयो। तर, त्यो बबई किनारमा उहाँको पुकार सुन्ने कोही थिएन। रोहन दौडिएर घर फर्किंदै घटना क्रम सुनाउनुभयो। त्यसपछि गाउँमा हल्ला खल्ला भयो। गाउँका मानिसहरु भेला भए। प्रहरी प्रशासनलाई सूचना गरे।

सम्झनाको खोजीका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा ७ जना र इप्रका मलवारबाट प्रहरी नायब निरीक्षक गणेशबहादुर सिंहको कमाण्डमा तीन जनाको टोली तत्कालै खटियो। सम्झनाको खोजीमा गाउँ घरका मानिसहरू पनि उत्तिकै गएका थिए। पछि प्रहरी प्रशासनबाट पनि टोली थपिए।

खोजी गर्दै जाने क्रममा बगेको ठाउँदेखि झन्डै २० किलोमिटर दक्षिणमा सम्झनाको शव फेला पर्‍यो। तुलसीपुर–१४ मटेरास्थित बबई नदी तर्ने क्रममा बगेकी सम्झनाको शव दंगीशरण गाउँपालिका–१ बैबाङस्थित पुलमुनि दिउँसो मात्रै फेला परेको खोजी कार्यमा खटिएका प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । काममा गएका श्रीमान राति पानी परेको हुँदा फुपूको घरमा नभई अंकल नाता पर्ने आफन्तको घरमा बास बसेको खुलेको छ। सात महिनाकी गर्भवती सम्झनाको बाढीले बगाएर मृत्यु भएपछि उहाँका श्रीमान साथै गाउँ, घर परिवार र आफन्त शोकमा डुबेका छन्।

प्रकाशित मिति : २० असार २०८१, बुधबार  २ : २६ बजे