७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

राप्तीको जल सतह खतराको केन्द्रमा , सिक्टाको ढोका नखुल्दा बस्ती जोखिममा



कोहलपुर बाँके असार २२- राप्ती नदीमा जल सतह खताराको बिन्दुभन्दा माथि पुगेको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार बिहान १०ः३० बजे ५ दशमलव ७५ मिटर रेकर्ड गरिएकोमा अहिले बढेरनदीको सतह ७ मिटर ९० सेन्टिमिटर पुगेको छ ।

नदीको सतह झन् झन् बढ्दै गएपछि राप्तीको तल्लो तटिय क्षेत्रका स्थानीय बासिन्दा जोखिममा परेका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बाघखोर गाउँमा बाढी पसेर केही घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राप्तीको बाढीले बाघखोरका स्थानीय बासिन्दा खुमलाल रावत, प्रेम सुनार, शालिकराम भण्डारीको घरमा क्षति पुर्याएको छ ।

बाढी राप्ती सोनारी(१ अन्तर्गत पर्ने कुसुम क्षेत्रका अन्य गाउँमा पनि पसेको बताइएको छ । राप्तीको बाढीले अगैयामा रहेको झोलुंगे पुलमा पनि क्षति पुर्याएको छ स्थानीयले बताएका छन् । यस्तै अगैयास्थित दाहसंस्कार स्थलको प्रतिक्षालय पनि नदी कटानमा परेको छ ।

राप्ती नदीमा पानीको सतह ह्वात्तै बढेपनि सिक्टा सिचाई आयोजनाले बाँकेको अगैयास्थित ब्यारेजका १४ वटा मात्रै ढोका खोलेको बताइएको छ ।

ब्यारेजका कुल १८ वटा ढोका मध्ये ४ वटा ढोका अझै बन्द रहेका छन्। ब्यारेजका सबै ढोका नखोल्दा अगैयाभन्दा माथिका केही गाउँहरूमा बाढी पसेको र गाउँ नै डुबानमा पर्ने जोखिम बढेको स्थानीय बासिन्दाले बताएका छन्।

प्रकाशित मिति : २३ असार २०८१, शनिबार  ३ : १० बजे