६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

महोत्तरीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो, दुई जना घाइते



महोत्तरी पुस २४, ( महोत्तरीको जलेश्वर–बर्दिबास सडक खण्डमा गए राति दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले दुवै मोटरसाइकलका चालकको ज्यान गएको जानकारी दिनुभयो । उनीहरुको उपचारका क्रममा ज्यान गएको हो ।

जलेश्वरबाट बर्दिबास जाँदै गरेको ज११प ८०९९ नम्बरको मोटरसाइकल र बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र२–०२–००४प १८४० नम्बरको मोटरसाइकल औरही नगरपालिका–१ को वडा कार्यालय नजिकै ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकलको पछाडिमा रहेका भङ्गहा –५ का ३१ वर्षीय श्रीराम गोसाई र बर्दिवास नगरपालिका प्रेमनगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बाक्लो हुस्सुका कारण तीव्रगतिमा रहेका दुवै मोटरसाइकलका चालकले एकअर्कालाई नदेखेका कारण अचानक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ५ : ४६ बजे