६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

घर जलेर लमजुङमा एक महिलाको निधन




कोहलपुर बाँके माघ ५ – लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, स्याँगेमा रहेको एकलघरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

स्याँगेमा किराना पसल गरी बस्दै आएका ४४ वर्षिया सन्तमाया श्रेष्ठको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको हो । सन्तमायाका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने आगलागीपछि माथिल्लो तलाबाट हाम फालेर भाग्न सफल भएका छन् ।
टिनको छानो रहेको घरमा पसलसमेत आगलागी भएको प्रहरीले जनाएको छ । राति नै घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार आगलागीबाट घरसहित पसल पूर्ण रूपमा जलेको छ । आगलागीबाट ग१६प ३९३८ को मोटरसाइकल पनि जलेको छ ।
सटर बन्द रहेको अवस्थामा राजेन्द्रकी श्रीमती सन्तमाया निस्सासिनुका साथै पछि आगलागीबाट निस्कन नसकेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
राती साँढे ११ बजेतिर आगलागी भएको अनुमान गरिएको र आफू १२ बजेतिर पुग्दा आगो ठूलो मात्रामा दन्किरहेको मर्स्याङदी-४ का वडा अध्यक्ष बलबहादुर गुरुङले बताए । स्थानीय साथै तत्काल जगत प्रहरीको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि नसकिएको र नजिकै रहेका ग्यासका सिलिन्डरहरु हटाउन सफल भएकाले अन्य घरहरु आगलागीबाट जोगिएको अध्यक्ष गुरुङले बताए ।
प्रहरी निरीक्षक चपाईंका अनुसार आगलागीबाट महिलाको शव पूरै जलेको छ । आगलागीको कारणबारे हालसम्म खुलेको छैन । घटनाबारे मुचुल्का उठाउने कार्य भइरहेकाले सवै विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चपाईंले बताए ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ३ : ११ बजे