६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

पूर्णता पाउन सकेन खजुराको मिनी रङ्गशालाले



कोहलपुर बाँके, माघ १२। बाँकेको खजुरा गाउँपालिका(४ डिगाउँमा लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको मिनी रङ्गशालाले अझै पूर्णता पाउन सकेको छैन ।

डिगाउँस्थित आदर्श प्राथमिक विद्यालयको खेल मैदानमा प्रदेश सरकारको एक पालिका एक रङ्गशाला कार्यक्रम अन्तर्गत मिनी रङ्गशाला निर्माणको काम सुरु भएको पूर्व वडाध्यक्ष तथा न्यू डाँफे युवा स्पोर्टस क्लवका पूर्व अध्यक्ष तिलकवीर सुनारले जानकारी दिनुभयो ।

पूर्व वडाध्यक्ष सुनारले भन्नुभयो, ूमिनी रङ्गशालालाई पूर्णता दिई प्रदेश र राष्ट्रियस्तरीय खेलकुद यहाँ आयोजना होस् भन्ने हामी सबैको चाहना छ ।ू प्याराफिटलाई पूर्णता दिन तथा गेट निर्माणलगायतका काम बाँकी छन् ।

रङ्गशालाको पूर्व, दक्षिण र पश्चिमतर्फ प्याराफिट निर्माण भएको छ भने उत्तरतर्फ भवन निर्माण भएको छ । यस मैदानमा राष्ट्रिय खेलकुद अन्तर्गत फुटबलका केही खेल सम्पन्न भएका छन् । पाँच वर्षअघि सुरु भएको मिनी रङ्गशाला निर्माणका लागि प्रदेश सरकार र खजुरा गाउँपालिकाको एक करोड रुपियाँ खर्च भएको छ ।

यसैबीच लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले बाँकेको खजुरा गाउँपालिकामा रहेका मिनी फुटबल रङ्गशाला डिगाउँ र शुक्र भलिबल रङ्गशाला के गाउँको स्थलगत अनुगमन गरी खेलाडी, खेलकर्मी र स्थानीय बासिन्दासँग छलफल गर्नुभएको छ ।

यही मैदानमा माघ १५ देखि नकआउट फुटबल प्रतियोगिता आयोजना हुँदै छ । प्रतियोगिताको प्रथम पुरस्कार एक लाख ५५ हजार ५५५ रुपियाँ डिगाउँका स्थानीय बासिन्दा तथा हाल अमेरिकामा रहनुभएका समाजसेवी लिलबहादुर थापाले प्रदान गर्नुभएको छ । ( गोरखापत्र अनलाइन )

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १२ : ४१ बजे