६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात जना घाइते



काठमाण्डौ पुस १३- ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको ज्यानसमेत गएको छ । घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये चार जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् ।

घटनाका बारेमा जानकारी दिँदै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भन्नुभयो, ‘घटनामा अहिलेसम्म एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ, प्रहरी सहित सात जना घाइते भएका छन्, घटनाको थप अनुसन्धान जारी छ ।’ उहाँले ज्यान गएका दुई मध्ये एक जनालाई गोली लागेको र अर्का एक जनाको छातीमा दाग देखिएकाले शव परीक्षणपछि मात्र ज्यान जानुको वास्तविक कारण जानकारी हुने बताउनुभयो । घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको ज्यान गएको हो ।

कोरियामा रोजगारीका निम्ति रोजगारी अनुमति प्रणाली (ईपीएस)को परीक्षामा सामेल हुन नपाएको भन्दै युवाहरुले आज प्रदर्शन गरेका थिए । त्यसक्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गर्नाका साथै हवाई फायर गरेको थियो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ३ : ४१ बजे