२ श्रावण २०८१, बुधबार | Wed Jul 17 2024

बिज्याइँकर्ताबिच झडप हुदा बालसुधार गृहमा तनावग्रस्त,



कोहलपुर बाँके पुस १५-

बाँकेमा अवस्थित नौवस्ता बालसुधार गृहका बालबन्दीबिच विवाद हुँदा अहिले तनावग्रस्त भएको छ । बाँकेको बैजनाथ –३, गाभरस्थित नौवस्तामा रहेको क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहका बाल बिज्याइँकर्ताबिच तनाव उत्पन्न हुँदा तनावग्रस्त बनेको हो ।

बालसुधार गृहमा रहेका १८ बर्षमाथिका बाल बिज्याइँकर्ताबिच हिजो रातिदेखि नै झडप भएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलले बताए ।

हिजो भएको झडपमा परी चारजना बालबन्दी घाइते भएको र उनीहरुको अस्पतालमा उपचार गरिएको थियो । एउटा ब्लकमा २३ जना र अर्को ब्लकमा ९३ जना गरी राखिएका बालबन्दीहरुले एकआपसमा ढुङ्गा प्रहार गरेको प्रजिअ पोखरेलले जानकारी दिए ।

आज फेरि दिउँसो ४ बजेतिर एकआपसमा हानाहान गर्दा एकजना बालबन्दी घाइते भएको र घाइतेलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गर्न पठाइएको उनले बताए ।

प्रजिअ पोखरेलका अनुसार अहिले पनि बालबन्दीहरु एकआपसमा ढुङ्गा हानाहान गरिरहेको र सरकारी साधन तथा अन्य भवनमा समेत तोडफोड गरिरहेका छन् । सुरक्षाकर्मीमाथि पनि उनीहरुले ढुङ्गा प्रहार गरेका छन् । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप सुरक्षा बल त्यहाँ खटाइएको छ ।

बालसुधार गृहमा देशका विभिन्न बालसुधार गृहमा हुलदङ्गा गरेका तथा तोडफोड गरेका १८ बर्ष उमेर समुहमाथिका विभिन्न जिल्लाका १ सय १६ जना बालबन्दीहरु रहेका छन् । गत असोज ४ गते बाँकेकै डुडुवा –६ स्थित जयन्दु बालसुधार गृहका बालबन्दीबिच एकआपसमा झडप हुँदा एकजना बालबन्दीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ३ : ३२ बजे