कोहलपुर बाँके पुस २६। सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन लुम्बिनी प्रदेश सरकारले उच्च प्राथमिकता दिएको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले बताएका छन् ।
नरैनापुरमा निर्माणाधीन अस्पतालको निरीक्षण गर्न पुगेका मन्त्री खनालले भने, ‘सबै स्वास्थ्य संयन्त्रको पहिलो प्राथमिकता मातृ तथा नवजात शिशु मृत्युदरमा उल्लेखनीय सुधार ल्याउने भन्नेछ, आमा सुरक्षा कार्यक्रममार्फत सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको छ ।ु उनले लुम्बिनी प्रदेशले नरैनापुरलाई प्रमुख प्राथमिकतामा राखेको बताउँदै निर्माणाधीन अस्पतालका लागि ५० लाख बजेट विनियोजन गरेको बताए । उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारमा बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका तयार भएको जानकारी दिँदै उनले नरैनापुरको निर्माणाधीन अस्पताललाई प्रसूति तथा स्त्रीरोग अस्पतालका रुपमा विकास गर्नका लागि प्रदेशबाट थप बजेटको व्यवस्था मिलाउने बताए ।
सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले प्रदेश सरकार र नरैनापुरको अस्पताल बीचको सहकार्यमा आगामी दिनमा स्त्रीरोग सेवा र शिक्षाको विस्तार गर्न आवश्यक रहेको बताउँदै सहरी विकास मन्त्रालयबाट गर्न सक्ने सहयोग गर्ने बताए । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आफूहरु लागिपरेको बताउँदै आर्थिक अभाव र आवश्यक उपकरण खरिद गर्न नसकेकाले चाहे जति स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको उल्लेख गरे । उनले नरैनापुरमा कुनै प्रकारको स्रोत नरहेकोले पनि आर्थिक समस्या भएको बताउदै प्रदेश र संघीय सरकारबाट बजेटको व्यवस्था मिलाइदिन मन्त्रीद्वयसंग आग्रह गरेका थिए ।
नरैनापुरका स्वास्थ्य संयोजक नगेन्द्रकुमार शाहले नरैनापुरमा ४६ हजार २ सय जनसंख्या रहेको बताउदै यो आर्थिक वर्षमा ६ सय ६६ जना सुत्केरी र १२१५ जना गर्भवति रहेको तथ्यांक प्रस्तुत गरेका थिए । नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले स्वागत गरेको कार्यक्रमको संचालन जिन्सी शाखा प्रमुख भरत महतोले गरेका थिए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव, निर्देशक, प्रदेश सभा सदस्यहरु, वडा अध्यक्षहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।