६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

‘प्रथम बैजनाथ महोत्सव माघ १० गतेदेखि सञ्चालन हुँदै, तयारी तीब्र



कोहलपुर बाँके माघ ४- , बैजनाथ गाउँपालिकामा माघ १० गतेदेखि २१ गतेसम्म प्रथम बैजनाथ महोत्सव सञ्चालन हुन लागेको छ । ‘कृषि, पर्यटन, उद्योग र उत्पादन सँस्कृतिको पहिचान, विकास र सम्मृद्धि बैजनाथको अभियान’ भन्ने मुल नाराका साथ हुन लागेको ‘प्रथम बैजनाथ तथा छैठौँ प्रादेशिक औद्योगीक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एंव प्रर्यटन महोत्सव–२०८०’ को तयारी तीब्र पारिएको हो ।

यस्तै बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित कोहलपुर न्यू सिटीको खाली क्षेत्रमा महोत्सव सञ्चालन गर्न लागिएको आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत औपचारिक रुपमा जानकारी गराएको हो ।

महोत्सव आयोजक समितिका तर्फबाट वरिष्ठ उपाध्यक्ष एवम् प्रचार–प्रसार संयोजक सुमन विश्वकर्माले १ सय ५० देखिी २ सय वटा सम्म ‘नविनतम प्रविधिजन्य उत्पादन, महिलाद्धारा सञ्चालित उद्यम तथा स्थानीय स्तरमा उत्पादित बस्तु’ प्रमुख आकर्षणका रुपमा रहने जानकारी दिए ।

स्थानीय स्रोतको सदुपयोग गरि उत्पादन गरिएका लघु घरेलु तथा साना उद्योगको उत्पादित बस्तुको दिगो बजार पहुँच स्थापित गर्ने महोत्सवको उद्देश्य रहेको उनले बताए । देश भित्रका सबै प्रकारका उत्पादन मुलक उद्योगका अलावा कृषि, वन पैदवार, हस्तकला, उर्जा, बायोग्याँस लगायत पर्यटन, औद्योगीक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टल रहने आयोजकले जनाएको छ ।

‘महोत्सवमा स्थानीय एवम राष्ट्रिय स्तरको साँस्कृतिक कार्यक्रम हरेक दिन हुनेछन् भने मेला अवधिभर संस्थाले एक लाख पचास हजार देखी दुई लाखसम्म दर्शक भित्र्याउने लक्ष्य लिएको छ,’ प्रचार–प्रसार संयोजक विश्वकर्माले भने ‘लघु घरेलु तथा साना उद्योगले स्थानीय तथा बाह्य स्तरमा उत्पादन गरेका स्वदेशी सामग्रीको बजार प्रवर्द्धन, आन्तरिक व्यापार तथा पर्यटन प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत देखिन्छ ।’

बैजनाथ गाउँपालिकामा आन्तरिक पर्यटक भित्र्याउन, यहाँको मौलिक कला सँस्कृती सभ्यता तथा मनमोहक प्राकृतिक सभ्यतालाई राष्ट्रिय स्तरमा चिनाउनका साथै पर्यटन प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्र विकासमा महोत्सवलाई प्रमुख उद्देश्य एवं लक्ष्यका रुपमा समेत लिइएको आयोजकले जनाएको छ ।

महोत्सवबाट करिव एक करोड रुपैयाँको हाराहारीमा आम्दानी हुने आयोजकको अनुमान छ । महोत्सवबाट प्राप्त आम्दानीको २० प्रतिशत रचनात्मक काममा र २० प्रतिशत रकम कमजोर अवस्थामा रहेका उद्यमीका लागि र बाँकी रकम महासंघको कार्यालय भवन निर्माण कार्यमा खर्च गरिने आयोजकले जनाएको छ । महोत्सवले गाउँपालिकाभित्र रहेका विभिन्न कला, सँस्कृति, भेषभुषा, मौलिक तथा साँस्कृतिक महत्व बोकेका विविधतायूक्त झाँकी, बाजा, परम्परागत पेशा, सीप लगायतका कुरालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन सहयोग पुर्याउने विश्वास गरिएको छ ।

गाउँपालिकाभित्र रहेका तथा सम्भावना बोकेका पर्यटकीय स्थललाई राष्ट्रिय स्तरमा चिनाउन महोत्सवले सहयोग पुर्याउने अपेक्षा पनि गरिएको छ । ‘गाउँपालिका क्षेत्रका घरेलु तथा साना उद्योग, महिला उद्यमीले आफ्ना उत्पादनको महोत्सव मार्फत प्रचार–प्रसार तथा बजारीकरणमा समेत सहयोग प्राप्त गर्ने अवसरको सृजना हुनेछ,’ संयोजक विश्वकर्माले भने ।

महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तु एवं सामग्री र लुम्बिनी प्रदेशको मौलिक कला सँस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानीय पर्यटकीय स्थलको जानकारीमूलक प्रदर्शनी, महिला उद्यमीद्वारा उत्पादित हस्तकलाका सामाग्री एवं बस्तुको प्रर्दशनी, नविनतम प्रविधि एंव बैकल्पिक उर्जाको प्रदर्शनी महोत्सवको आर्कषण रहेको छ ।

यस्तै बैंक तथा वित्तिय संघ–संस्था एंव सेवा प्रदायक संघ संस्थाको वर्तमान स्किमहरुको प्रदर्शनी, विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानबाट उत्पादित बस्तु तथा सामग्रीको प्रदर्शनी, बाल उद्यान, साँस्कृतिक तथा मनोरञ्जनात्मक क्रियाकलाप, थारु परिकार तथा सम्बन्धित साँस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारको साँस्कृतिक प्रस्तुती आर्कषण रहेको आयोजकले जनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथ समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेको सभापतित्व एवम् महासंघका केन्द्रीय सदस्य कुवेर रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष भागवतप्रसाद कँडेल, जिल्ला सदस्य दिपकराज भण्डारी, माधव रिजाल लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ६ : २३ बजे