७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

विश्वव्यापी तापक्रम एक वर्षमै पहिलो पटक १ दशमलव ५ डिग्री सेल्सियसभन्दा धेरैले बढ्यो




एजेन्सी माघ २५,
पहिलो पटक विश्वव्यापी तापक्रम एक वर्षमै एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा धेरैले बढेको छ । युरोपेली सङ्घको जलवायु सेवाका अनुसार तापक्रमको रेकर्ड राख्न थालेपछि अहिलेसम्म विश्वको तापक्रम एक वर्षमा एक दशमलव पाँच डिग्री सेल्सियसले बढेको थिएन ।

विश्वका नेताहरूले सन् २०१५ मा दीर्घकालीन तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित गर्ने प्रतिज्ञा गरेका थिए । यदि विश्वव्यापी तापक्रमलाई अब एक दशमलव पाँच प्रतिशतभन्दा धेरै बढ्न नदिएमा जलवायु परिवर्तनको सबैभन्दा हानिकारक प्रभावबाट बच्न सकिने विभिन्न अध्ययनहरूले देखाएका छन् । संयुक्त राष्ट्र सङ्घको लक्ष्य पनि यही हो । तर गएको अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२३ को फेब्रुअरीदेखि यो वर्षको जनवरीसम्म विश्वको तापक्रम वृद्धि एक दशमलव ५२ डिग्री सेल्सियल्स पुगेको हो ।

कार्बन उत्सर्जन कटौतीमा विश्वव्यापी प्रतिबद्धता पूरा नभएकाले तापक्रम बढेर सङ्कट झनै नजिक आइरहेको विज्ञहरूले बताएका छन् । बेलायतको राष्ट्रिय मौसम विज्ञान समाजका प्रमुख कार्यकारी प्राध्यापक लिज बेन्टले यसले ल्याउने परिणाम खतरापूर्ण हुने चेतावनी दिनुभएको छ ।

जलवायु परिवर्तनको भयावह अवस्थाबाट बच्नका लागि तापक्रमलाई औद्योगिक क्रान्तिको समय अर्थात् १८५० को आसपासमा जस्तो एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित गर्नुपर्ने हुन्छ । तापक्रम वृद्धिका लागि मानवीय गतिविधि नै मुख्य हुन् । यसलाई सन्तुलनमा राख्न खनिज इन्धन अर्थात् जीवाश्म इन्धनको प्रयोग निकै नै घटाउनुपर्ने देखिएको छ ।

सन् १९४० को दशकमा तापक्रमको वृद्धि वार्षिक शून्य दशमलव दुई डिग्री सेल्सियसको आसपास थियो, त्यसपछि लगातार बढिरहेको छ । तापक्रम बढेर जलवायु परिवर्तन हुँदा विश्वभर लामो खडेरी र चरम सुक्खा बढ्दै गएको छ । एक्कासी मुसलधारे पानी पर्ने र बाढी पहिरोका घटना धेरै भइरहेका छन् । हिमाली क्षेत्र र ध्रुवीय क्षेत्रहरूमा एकातिर कम हिमपात भइरहेको छ, अर्कोतिर हिउँ छिटो छिटो पग्लिरहेको छ । हिमनदीहरू द्रूत गतिमा बढेका छन्, हिमतालको सङ्ख्या बढेको छ, ताल फुट्ने सम्भावना बढेका छन् । समुद्रको सतह बढ्दै गएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ११ : १९ बजे