७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

राप्ती–सोनारीमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आयो



कोहलपुर बाँके फागुन ४ । बाँकेको दुर्गम मानिने राप्ती सोनारी गाउँपालिका र सो वरिपरिका क्षेत्रका सर्वसाधारणको आँखा उपचारलाई सहज र सरल बनाउने उद्देश्यले राप्ती सोनारी गाउँपालिकामा ‘राप्ती सोनारी ग्रामीण आँखा केन्द्र’ सञ्चालनमा आएको छ ।

ग्रामीण आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै आँखाको चेकजाँच र उपचारका लागि नेपालगन्ज धाउनुपर्ने स्थानीयबासीको बाध्यता हटेको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो ।

उहाँले स्वास्थ्य सेवालाई सबैको पहुँचमा केन्द्रीत गर्न ग्रामीण क्षेत्रमै आँखा उपचार पनि सुरु गरिएको बताउनुभयो । राप्ती सोनारी गाउँपालिका र नेपाल आँखा कार्यक्रम–तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा केन्द्र सञ्चालन गर्ने सम्झौता भएपछि राप्ती सोनारी गाउँपालिका –४ बैजापुरस्थित बैजापुर अस्पतालमा आँखा केन्द्र सञ्चालनमा आएको सो अस्पतालका प्रमुख डा। राम साहले जानकारी दिनुभयो ।

पालिकाभित्र आँखा केन्द्रमा सञ्चालन आएपछि आँखाका बिरामीलाई उपचारका लागि अन्यत्र स्थान धाउनुपर्ने बाध्यता अब हटेको उहाँको भनाइ छ । तिलगङ्गा आँखा प्रतिष्ठानका सर्जिकल इन्चार्ज विमल विसीले नेपाल आँखा कार्यक्रम–तिलगङ्गा आँखा प्रतिष्ठानले गाउँपालिकासँग मिलेर आगामी पाँच वर्षका लागि उपचार व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।

उहाँका अनुसार पहिलो वर्ष प्रतिष्ठान र पालिकाले कर्मचारीको तलव भत्ता ५०–५० प्रतिशत ब्यहोर्ने सहमति भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार एक जना नेत्र सहायक र एकजना कार्यालय सहयोगी गरी दुई जना कर्मचारी आँखा केन्द्रमा छन् ।

जनताको पहुँचमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्ने, आँखा केन्द्रमा पहिचान भएका मोतियाविन्दुका बिरामीको लगत राखी तिलगङ्गा आँखा प्रतिष्ठानसँग समन्वय गरी शल्यक्रिया शिविरमा प्रेषण गर्ने, आँखा स्वास्थ्य कार्यक्रमलाई प्रवर्धन गर्न निरन्तर रुपमा समुदायको सहभागिता र सहकार्यलाई ग्राहायता दिइने, आँखा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम केन्द्रबाट सञ्चालन गरिने छ ।

सो आँखा केन्द्रबाट बिरामीको दृष्टि तथा चश्मा जाँच, विरामीको आँखासम्बन्धी रोगहरुको परीक्षण तथा उपचार, आँखाको सामान्य शल्यक्रिया, सर्वसुलभ मुल्यमा औषधी तथा चश्माको बिक्री वितरण, आँखा रोगसम्बन्धी आकस्मिक सेवा प्रवाह सुरु गरिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ९ : ०२ बजे