७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

प्रकृति संरक्षणमा मानव जातिको साझा चासो र चुनौती भएको राष्ट्रपति पौडेलको भनाइ



काठमाण्डौ फागुन ५,– राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानव जातिको साझा चासो र चुनौतीको विषय भएको बताउनुभएको छ ।

ललितपुरमा आज भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एकदिवसीय सम्मेलनमा राष्ट्रपति पौडेलले अहिलेको विश्व जलवायु परिवर्तनलगायतका वातावणीय चुनौतीहरूको शिखरमा उभिएको बताउनुभयो ।

पौडेलले वातावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र अभिरुचि बढिरहेको दाबी गर्दै वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका विद्यमान चुनौती तथा अवसरलाई विश्लेषण गरेर नीतिगतदेखि कार्यान्वयन तहसम्म भावी दिशानिर्देशका लागि स्पष्ट मार्गचित्र कोर्न सक्नुपर्ने उल्लेख गर्नुभयो । प्रकृति तथा जैविक विविधता र वन्यजन्तु संरक्षणको विषय देशको दिगो विकाससँग प्रत्यक्षरूपमा जोडिएको उहाँको भनाइ थियो ।

पौडेलले वन्यजन्तुको बढ्दो सङ्ख्याले निम्त्याएको उचित व्यवस्थापनको समस्या, वन्यजन्तुमैत्री भौतिक पूर्वाधारको व्यवस्था, राष्ट्रिय क्षमता विकास, क्रियाशील राज्यका संयन्त्रहरु आदिको आवश्यकताले विशेषरूपमा वन्यजन्तु लक्षित कार्यक्रमहरूको अपरिहार्यता र कार्यान्वयनको बाटोलाई जोड दिनुपर्ने बताउनुभयो ।।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १ : ४४ बजे