२ श्रावण २०८१, बुधबार | Wed Jul 17 2024

हैजाको शङ्कापछि मौरिससले ३४ सय जनाभन्दा धेरै यात्रु रहेको पानीजहाजलाई राजधानी छिर्न रोक



एजेन्सीँ फागुन १४, यात्रुमा हैजा फैलिएको शङ्कामा मौरिससले नर्वेको एक विशाल पानीजहाजलाई आफ्नो देशको राजधानी पोर्ट लुइसमा आउन रोक लगाएको छ ।

नर्वेजियन डन नामको पानीजहाजमा रहेका ३४ सय जनाभन्दा धेरै यात्रुमध्ये १५ जनामा हैजाको शङ्का गरिएको थियो । मौरिससका अधिकारीहरूले कुनै पनि स्वास्थ्य जोखिमबाट बच्नका लागि जहाजलाई रोक्ने निर्णय लिइएको बताएका बीबीसीले जनाएको छ ।

जहाजमा रहेका बिरामीहरूको नमुना परीक्षण गर्ने तयारी छ । यात्रुहरूले दक्षिण अफ्रिका यात्राका क्रममा पेटमा समस्या भएको बताएका नर्वेजियन डनका प्रतिनिधिले बताएका छन् ।

दक्षिणी अफ्रिकामा विगत केही महिनाहरूमा हैजाको प्रकोप उच्च भएको छ, जाम्बिया सबैभन्दा बढी प्रभावित भएको छ । गएको वर्ष अफ्रिकामा एक लाख ८८ हजार जनामा हैजा पुष्टि भएकोमा तीन हजार जनाको ज्यान गएको थियो ।

यात्रुहरूको स्वास्थ्य र सुरक्षाका साथै सम्पूर्ण देशको सुरक्षाका लागि जहाजलाई राजधानी आउन नदिनु अत्यन्तै महत्त्वपूर्ण भएको मौरिसस बन्दरगाह प्राधिकरणले बताएको छ । जहाजमा दुई हजार एक सय ८४ जना यात्रु र एक हजार २६ जना चालक दलका सदस्य रहेका छन् । यीमध्ये दुई हजार जना मौरिससको राजधानी पोर्ट लुइसमा ओर्लिने योजनामा थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १ : ४६ बजे