काठमाण्डौ फागुन २९, – पपुवा न्युगिनी पीएनजीलाई ८५ रनले हराउँदै नेपाल त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । हङकङको टिन कोङ मैदानमा नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा १ सय १३ रन बनाउँदा अलआउट भयो ।
उसका हिरी हिरीले सर्वाधिक २८ रन बनाए । यस्तै, टोनी उराले १३ र सेसे बाउले २१ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले चार, प्रतिश जिसीले दुई तथा आकास चन्द र गुल्शन झाले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनायो । नेपालका सन्दिप जोराले ५६ रन बनाए । यस्तै, कुशल भुर्तेलले ५९ रन बनाए भने विवेक यादवले ४ बलमा १९ रन बनाए ।
त्यस्तै गुल्सन झा १५ रनमा नटआउट रहे । कप्तान रोहित पौडेल एक, विनोद भण्डारी २७, आरिफ शेख ४ र लोकेश बम १४ रनमा आउट भए । पीएनजीका असद भालाले २ विकेट लिए ।
पीएनजीले आजै हङकङसँग खेल्नेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ । फाइनल खेल भोलि हुनेछ । तालिकामा तेस्रो हुने टोलीले हङकङ ‘ए’ सँग टी–२० खेल्नेछ ।