७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

गृहमन्त्रीमाथि सहकारी ठगी प्रकरणमा छानविन समिति बनाउनुपर्ने कांग्रेसको अडान



काठमाण्डौ चैत १७- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ ।

संसद् सञ्चालनका लागि चैत महिनाभित्रको कार्यसूचि बनाउन सभामुख देवराज घिमिरेले बोलाउनुभएको बैठकमा कांग्रेसकी सचेतक सुशीला थिङले समिति बन्नुपर्ने अडानमा आफूहरु कायमै रहेको बताउनुभएको हो । नेपाली कांग्रेसले सहकारीको विवादमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कुनै पनि विधेयक संसदमा प्रश्तुत गर्न नपाउने जिकिर गर्दै आएको छ ।

यसैबीच सत्तारुढ दलका नेताले भने गृहमन्त्री रवि लामिछानेमाथिको सहकारी ठगी प्रकरणमा सांसदीय छानविन समिति आवश्यक नरहेको बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाउनुभएको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्रधानमन्त्री लामिछानेमाथिको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन आवश्यक नरहेको जवाफ दिनुभएको हो ।

एमालेका प्रमुख सचेतक बर्तौलाले राजनीतिक पूर्वाग्रहबाट मुक्त भएर कांग्रेसले सदनलाई अघि बढाउन वातावरण बनाउनुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक परियारले गृहमन्त्री लामिछानेले आफूमाथि उठेको प्रश्नको जवाफ दिन तयार रहेको बताउनुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १२ : ५३ बजे