७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

कोहलपुरमा ३ महिने साङ्केतिक भाषा तालिम सुरु



कोहलपुर बाँके चैत २, – बाँकेको कोहलपुरमा ३ महिले साङ्केतिक भाषा तालिम सुरु भएको छ । बहिरा अपाङ्गता भएका व्यक्तिहरुको सञ्चारमा सहजता होस् भन्ने उदेश्यले ३ महिने निस्शुल्क साङ्केतिक भाषाको तालिम कोहलपुरमा सञ्चालन गरीएको हो ।
अपाङ्ग नवजीवन केन्द्र कोहलपुरको आयोजना र कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा तालिम संचालन गरिएको छ । तालिमको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाको उपप्रमुख संगीता सुवेदीले नगरपालिकामा बहिरा अपाङ्ग भएका व्यक्तिहरु सेवा लिन आउँदा कर्मचारीले नबुझ्ने समस्या अनि आफ्नो समस्या राख्दा पनि सम्बन्धित ठाउँसम्म नपुग्ने भएकोले यो तालिम अहिलेको परिवेश अनुशार निकै उपयुक्त भएको बताउनु भयो।

सुवेदीले साङ्केतिक भाषा सिक्नाले स्वदेश तथा बैदेशिक रोजगारमा अवसर मिल्ने, मन्त्रालय, प्रदेश तथा स्थानीय तहमा पनि यसको उपयोग गर्न सकिने हुनाले साङ्केतिक भाषा ज्यादै नै उपयोगी भएको बताउनु भयो । उहाँले साङ्केतिक भाषा बहिरा व्यक्तिहरुक लागि मात्रै नभएर सबै व्यक्तिहरुका लागि उपयोगी हुने भन्दै तालिमको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

यस्तै उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका सामाजिक बिकास शाखाका संयोजक इश्वरी प्रसाद बिकले साङ्केतिक भाषा बहिरा तथा अन्य व्यक्तिहरुका लागि पनि महत्वपूर्ण र अति आवश्यक रहेको भन्दै यसले साङ्केतिक भाषाको दोभाषे उत्पादनमा पनि सहयोग गर्ने बताउनु भयो । बिकले सबै नागरिकहरुमा साङ्केतिक भाषाको ज्ञान भएमा बहिरा अपाङ्गता भएका व्यक्तिहरुसँग सहज रुपमा सञ्चार गर्न सकिने भन्दै प्रशिक्षार्थीहरुलाई राम्रोसँग यो तालिममा सहभागी हुनहुन आग्रह गर्नु भयो

यस्तै कोहलपुर नगरपालिकाका आर्थिक बिकास शाखा संयोजक अनिता बिसिले बहिरा तथा अपाङ्ग व्यक्तिहरु नगरपालिकामा होस या जुनसुकै स्थानमा जादा उनिहरुको कुरा बुझ्न अनि बुझाउन असहज भएको हुँदा राज्यले दिने र उनिहरुले पाउने हरेक सेवा सुबिधाबाट पछि रहन परेको हुँदा र बहिरा अपाङ्गता भएका व्यक्तिहरुको सञ्चारमा पहुँच पुर्याउने उदेश्यले यो साङ्केतिक भाषाको तालिम सञ्चालन गरिएको बताउनु भयो ।

साथै उहाँले यो तालिम पश्चात दोभाषे उत्पादन हुने र रोजगारीमा पनि सहभागी हुने अवसर प्राप्त हुने हुदा सबैले यो साङ्केतिक भाषाको तालिम लिदा फाइदा हुने कुरामा जोड दिनु भयो ।

यस्तै अपाङ्ग नवजिवन केन्द्र कोहलपुरको अध्यक्ष जङ्गबहादुर डागिले साङ्केतिक भाषाको तालिमले आगामि दिनमा बहिराअपाङ्गको समस्या सुनिने र समाधान गर्न सहज हुने बिश्वास समेत व्यक्त गर्नुभयो। आजबाट सुरु भएको तालिम असार २२ गतेसम्म संचालन हुनेछ। प्रशिक्षक रु इस्मिता पोखरेलले दिने तालिममा कोहलपुर भित्रका बिभिन्न सरोकारवाला निकायका एक एक जना गरि तालिममा १० जना प्रशिक्षार्थीहरुको सहभागीता रहनेछ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ९ : ०९ बजे