७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पछिल्लो तीन दिनमा डढेलो र आगलागीबाट गुल्मीमा ६७ वटा घरगोठ जलेर नष्ट



गुल्मी बैशाख ९, – गुल्मीमा पछिल्लो तीन दिनमा डढेलो र आगलागीका घटनाबाट लाखौँको क्षति भएको छ । हिजो इस्मा गाउँपालिकामा ६७ वटा घरगोठ जलेर नष्ट भएका छन् । इस्मा गाउँपालिका–१ मा लागेको डढेलो निभाउने क्रममा ट्र्याक्टर चालक स्थानीय १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते हुनुभएको छ ।

दुवैजनाको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शंकरप्रसाद पोख्रेलले जानकारी दिनुभएको छ ।

घरगोठ क्षतिपछि विस्थापित परिवार यतिबेला छिमेकीको घरमा आश्रय लिएका छन् । इस्मा गाउँपालिका र नेपाल रेडक्रसको सहयोगमा पीडित परिवारलाई तत्कालका लागि अत्यावश्यक खाद्यान्न, लत्ताकपडा तथा भाँडाकुँडालगायतका सामग्री वितरण गरिएको छ ।

गाउँमा पानीको पाइप जलेपछि खानेपानीको समस्या भएको छ । अस्ति र हिजो इस्मा, रेसुंगा, गुल्मीदरबार र रुरुक्षेत्रलगायतका विभिन्न ठाउँमा डढेलोले ठूलो क्षति गरेको छ । मदाने र मालिकामा पर्ने गुराँसे वनमा दुईदिनदेखि डढेलो लागिरहेको छ । जङ्गलको डढेलो बस्ती पस्दा मदाने गाउँपालिकामा पनि केही घरमा पनि क्षति पुगेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ६ : ३२ बजे