७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

भूकम्पको सम्झनामा आज फोटो प्रदर्शनी गरिदै



बोहलपुर बाँके वैशाख १२ – २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको सम्झनामा भूकम्पीय जोखिम न्यूनिकरणका लागि सचेतना फैलाउन आज बृहत फोटो प्रदर्शनी हुँदैछ । ‘विगतबाट पाठ सिकौँ, भूकम्पप्रति सचेत बनाँै’ भन्ने नारासहित खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आयोजना तथा महिला पत्रकारको संस्था ‘संवाहिका समाज नेपाल’को सह–आयोजनामा बृहत फोटो प्रदर्शनीको आयोजना गरिएको हो ।

खानी तथा भूगर्भ विभाग, लैनचौर परिसरमा प्रदर्शनी हुँदैछ । गोरखा भूकम्प तथा विभिन्न अरु जिल्लाहरु डोटी, बझाङ्ग, जाजरकोटमा गएका भूकम्पबाट भएको क्षति तथा मानव समाज र भूगोलमा आएको परिवर्तनका दृष्यहरु समावेश गरी फोटो प्रदर्शनी गर्न लागिएको हो ।

२०७२ साल वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको थियो । यो १९९० सालको महाभूकम्पपछि नेपालमा गएको सबैभन्दा ठूलो भूकम्प मानिन्छ । झण्डै ९ हजार मानिसले यो भूकम्पमा ज्यान गुमाएका थिए । आठ लाखभन्दा धेरै भौतिक संरचनाको क्षति भएको थियो । भूकम्पमा २२ हजार भन्दा धेरै मानिस घाइते भएका थिए ।

विगत केही वर्षयता मुख्यगरी नेपालको पश्चिमी क्षेत्रमा पटक पटक भूकम्पको धक्का महसुस गरिएको छ । गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । जाजरकोट भूकम्पमा एक सय ५६ जनाले ज्यान गुमाएका छन् ।

जाजरकोट, रुकुम पश्चिमसहितका जिल्लामा अहिले पुनर्निर्माण तथा पुर्नस्थापनाको काम भैरहेको छ । भूकम्पको पूर्वानुमान गर्न सकिँदैन तर भूकम्पबाट हुने क्षतिलाई विगतबाट पाठ सिकेर न्यूनिकरणका उपायहरु अपनाउन सकिन्छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ५ : ४१ बजे