काठमाण्डौ बैशाख १६, – सरकारले आजदेखि सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउँदैछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर रुद्र मरासिनीले झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइने जानकारी दिनुभयो ।
यसअघि ती जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरे पनि अभियानको उदेश्य पूर्णरुपमा सफल नभएपछि फेरि अभियान सञ्चालन गर्न लागिएको हो । अभियान दुई हप्तासम्म चल्नेछ । औषधि खुवाउन छ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी छ ।
डाक्टर मरासिनीकाअनुसार सात जिल्लाका एक सय एक पालिकाका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य छ । दुई वर्षभन्दा माथिको उमेरका सबैलाई औषधि खुवाइने उहाँले बताउनुभयो ।
गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले हात्तीपाइले रोगविरुद्धको औषधि खान नहुने पनि निर्देशक डाक्टर मरासिनीले बताउनुभयो ।
हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका लक्षण शरीरमा देखिने डाक्टर मरासिनीले बताउनुभयो ।
महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा अभियानका फोकल पर्सन रामकुमार महतोले ५३ जिल्लामा समुदायस्तरमा हात्तीपाइले रोगको सङ्क्रमण रोकिएको बताउनुभयो । उहाँका अनुसार दाङ, मोरङ, बाँके र कैलाली जिल्लामा प्रारम्भिक समुदायस्तरको सङ्क्रमण रोकिएको छ ।