७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

राष्ट्रिय विकासमा सूचना प्रविधिको उपयोग बढाउने सरकारको प्रतिबद्धता



काठमाण्डौ वैशाख २०–– सरकारले सूचना प्रविधिमा नागरिकको सरल र सहज पहुँच सुनिश्चित गर्दै राष्ट्रिय विकासमा सूचना प्रविधिको उपयोग बढाउने प्रतिबद्धता जनाएको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले यस्तो प्रबतिद्धता जनाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देश दिँदै शासन, विकास र सेवा प्रवाहका विविध आयामहरुलाई सूचना तथा सञ्चार प्रविधिसँग आवद्ध गर्दै विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्न सरकारले जोड दिएको उल्लेख गर्नुभएको छ ।

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले डिजिटल भुक्तानी प्रणालीको विकास र उपयोगलाई अझै तीव्र र प्रभावकारी बनाउन सरकारले आधारभूत डिजिटल पूर्वाधारको रुपमा देशभर दूरसञ्चार सेवाको पहुँच विस्तारलाई जोड दिएको जानकारी दिनुभएको छ ।

देशमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने गरिन्छ । सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवम् प्रवर्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।

विश्वमा प्रयोग हुँदै आएका एआई, क्लाउड कम्प्युटिङ, आइओटी, ब्लकचेन जस्ता नयाँ तथा परिवर्तनकारी प्रविधिको विकास र विस्तारबाट नेपालले कसरी लाभ लिन सकिन्छ भनेर सरकार आवश्यक तयारी भैरहेको पनि सरकारले जनाएको छ ।

गएको आइतवार र सोमवार काठमाण्डौमा भएको लगानी सम्मेलनमा नेपाल सरकारले डाटा सेन्टर, आइटी र टेक्नोपार्क, कम्प्युटर हार्डवेयर एसेम्बली प्लान्ट, आइसिटी ट्रेनिङ सेन्टर, डिजिटल सर्भिस सेन्टर, स्मार्ट फोन म्यानुफ्याक्चर तथा एसेम्बली प्लान्ट, इन्कुवेसन सेन्टर र फिल्म सिटी गरी महत्वपूर्ण आठ वटा परियोजना अघि सारेको थियो । ‘डाटा सेन्टर’ निर्माण तथा सञ्चालनको परियोजनामा नेपालको बिएलसी ग्रुप र भारतको योट्टा डाटा सर्भिसेजले सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार प्रतिबद्ध रहेको सञ्चारमन्त्री शर्माले बताउनुभएको छ । साइबर स्पेसलाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलो पटक साइबर सुरक्षा नीति, २०८० जारी गरिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । त्यस्तै सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको काम भइरहेको छ ।

डिजिटल पूर्वाधारको महत्वपूर्ण आधार दूरसञ्चार क्षेत्रलाई समयानुकूल व्यवस्थित गर्न दूरसञ्चार ऐनको पुनरवलोकन गर्ने काम भइरहेको पनि सरकारले जनाएको छ । सूचना प्रविधिसँग सम्बन्धित नीतिलाई समयानुकूल परिमार्जन गरिरहेको पनि सरकारले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ९ : ३० बजे