२१ मंसिर २०८१, शुक्रबार | Sat Dec 7 2024

आज अन्तर्राष्ट्रिय परिवार दिवस




काठमाण्डौ जेठ २, – आज अन्तर्राष्ट्रिय परिवार दिवस नेपालमा पनि मनाइँदै छ । परिवार दिवसको यस वर्षको नारा ‘विविधतालाई सुदृढ पार्दै परिवारहरूलाई बलियो बनाउँ’ रहेको छ । हरेक वर्ष मे १५ तारिखका दिन यो दिवस मनाइन्छ । एउटा व्यक्तिको जीवनमा परिवारको भूमिका र महत्त्वलाई स्मरण गरी दिवस मनाउने गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९४ लाई परिवार वर्षको रूपमा घोषणा गरेयता विश्वभर परिवार, व्यक्ति, समाज र संस्कृतिको महत्त्व दर्शाउन दिवसकै रूपमा मनाउने गरिएको हो । विश्वका धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा प्रभाव पार्दै आएको सामाजिक, आर्थिक संरचनामा परिवर्तन गर्ने यसको मुख्य उद्देश्य छ ।

नेपालमा परिवारको महत्त्व समाजको संरचनामा जोडिएको छ । नेपाली संस्कृतिले पारिवारिक सद्भाव, ज्येष्ठ नागरिकको सम्मान र सामूहिक निर्णयमा जोड दिन्छ । बढ्दो आधुनिकता अनि विकासक्रमसँगै पारिवारिक मूल्य, मान्यता र अवधारणाहरू घट्दै गएका विज्ञहरू बताउँछन् । जीविकोपार्जन र कमाइका लागि युवा पलायन हुने क्रम सँगै परिवार र सामाजिक भावनामा नकारात्मक असर पनि पर्न थालेकोतर्फ ध्यान दिनुपर्नेमा उनीहरूको जोड छ ।

राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख तथा नेपालमा अक्सर बसोबास गर्ने परिवारको सङ्ख्या ६७ लाख ६१ हजार रहेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ९ : ०७ बजे