७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ‘संस्कार शिक्षा’ पढाउँदै



स्याङ्जा जेठ ७, – स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन गराउन शुरु गरेको छ । संस्कार संस्कृति तथा नैतिक शिक्षाको कमीका कारण युवापुस्तामा आफ्नो संस्कारसम्बन्धी ज्ञानको अभाव देखिन थालेको भन्दै पालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन शुरु गरेको हो ।

आफ्ना मौलिक कला, संस्कृति, चालचलनको संरक्षण, संवर्द्धन र पछिल्लो पुस्तालाई संस्कारयुक्त बनाउनका लागि संस्कार शिक्षा पठाउन थालिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । स्थानीय पाठ्यक्रमअन्तर्गत संस्कार शिक्षा उपयुक्त लागेकाले चालू शैक्षिक सत्रको शुरुवातदेखि कक्षा ६, ७ र ८ मा पठनपाठन थालिएको उहाँले बताउनुभयो ।

‘स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा १–५ मा स्थानीय विषयवस्तुलाई समेटेर पाठ्यपुस्तक तयार गरी पठनपाठन गराउँदै आएका छौँ’, अध्यक्ष तिवारीले भन्नुभयो, ‘स्थानीय पाठ्यक्रममा समेट्नुपर्ने विषय थोरै भएको र माथिल्ला कक्षामा दोहोरिने भएकाले जीवनोपयोगी शिक्षाको खोजी गर्नेक्रममा संस्कार शिक्षा उपयुक्त लागेकाले यसलाई थालेका हौँ ।’ डा। स्वामी केशवानन्दद्वारा लिखित संस्कार शिक्षा लागू गर्ने देशभरमै पालिकास्तरमा अर्जुनचौपारी पहिलो भएको दाबी उहाँको छ ।

‘पाठ्यपुस्तकमा नैतिक ज्ञानगुनका विषयहरूलाई कथा, कविताका माध्यमबाट प्रस्तुत गरिएको छ । आधुनिक शिक्षाको विकासक्रमसँगै संस्कारयुक्त शिक्षा, नैतिक शिक्षा पछाडि पर्दै गइरहेका छन्’, अध्यक्ष तिवारीले भन्नुभयो, ‘सबैभन्दा पहिला संस्कारयुक्त व्यक्ति निर्माण गर्दै अन्ततः संस्कारयुक्त समाज निर्माण गर्न यो पाठ्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त छौँ ।’

पाठ्यपुस्तक पठनपाठन गर्ने क्रममा यसलाई अझै समयसापेक्ष परिमार्जन गर्दै विषयवस्तुलाई थप गर्दै लैजाने गरी तयारी भएको छ । अर्जुनचौपारी गाउँपालिकाका सामुदायिक र संस्थागत गरी ११ वटा विद्यालयमा चालू शैक्षिक सत्रदेखि संस्कार शिक्षा पठनपाठनमा भइरहेको छ । गाउँपालिकाले यो पाठ्यपुस्तक विद्यार्थीलाई निःशुल्क उपलब्ध गराएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १० : ०६ बजे