७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

धनगढीको तापक्रम ४४ डिग्री , पश्चिम तराईमा आज र भोलि पानी पर्ने सम्भावना कम




काठमाण्डौ जेठ १७, – सुदूरपश्चिमको राजधानी कैलालीको धनगढीमा आज तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीमा आज ४४ दशमलव १ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यो यस वर्षको उच्च तापक्रम पनि हो ।

धनगढीमा हिजोको तापक्रम ४३ दशमलव ३६ डिग्री सेल्सियस हुँदा रेकर्ड बनेको थियो । त्यसअघि यस वर्षको उच्च तापक्रम गएको अप्रिल २० तारिख अर्थात् वैशाखको ८ गते भैरहवामा ४३ दशमलव ६ डिग्री मापन भएको थियो ।

धनगढीमा सन् १९९५ जुन १६ तारिखमा अहिलेसम्मकै उच्च ४६ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । अहिले मे महिनाको अन्तिम समय हो । त्यसैले धनगढीमा अझै तापक्रम बढ्ने सम्भावना कायमै छ । गर्मी बढेसँगै धनगढी उपमहानगरभित्रमा विद्यालय आजदेखि एक हप्ताका लागि बन्द भएको छ ।

आज दिउँसो कैलालीकै साँडेपानी र नेपालगञ्जमा उच्चतम तापक्रम ४४ डिग्री, कञ्चनपुरको दोधारा र बाँकेको खजुरामा ४३ डिग्री, कपिलवस्तुको तौलिहवामा ४१, भैरहवामा ४० र जनकपुरको ३६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । यस्तै आज काठमाण्डौको उच्चतम तापक्रम ३३ डिग्री सेल्सियस मापन भएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावाको लहर चलेको छ । तर आज र भोलि ती क्षेत्रमा पानी पर्ने सम्भावना कम छ ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज दिउँसो बाग्मती, कोशी र गण्डकी प्रदेशका एकरदुई ठाउँमा पानी परेको छ । आज राति मधेश र कोशी प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  १२ : २५ बजे