७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

प्रेस युनियन बाँकेको प्रशिक्षण भेला सोमवार सम्पन्न




कोहलपुर बाँके,- नेपाल प्रेस युनियन बाँके शाखाको प्रशिक्षण भेला सोमवार सम्पन्न भएको छ । भेलामा सहभागि भएका प्रेस युनियनकर्मीहरुलाई विभिन्न तीन वटा विषयमा प्रशिक्षण दिइएको थियो ।


नेपाल प्रेस युनियन ः पत्रकार महासंघको सम्बन्धका विषयमा नेपाल प्रेस युनियनका परामर्र्श समिति सदस्य तथा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिका पूर्व उपसभापति हेमन्त कर्माचार्य, नेपाल प्रेस युनियनको संरचना र सांगठनिक अवस्थाका विषयमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिका महासचिव नवीन गिरी र नेपाल प्रेस युनियन र पार्टी बीचको सम्बन्धका बिषयमा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य तथा नेपाली काँग्रेस बाँके प्रशिक्षण शाखा सचिव उमा थापाले प्रशिक्षण दिनुभएको थियो ।
ती प्रस्तुतीकरणमा नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्वअध्यक्ष तथा युनियनका अग्रज नेता नीरज गौतमले टिप्पणी गर्नुभएको थियो । नेपाल प्रेस युनियन बाँके शाखाको आयोजना तथा नेपाली काँग्रेस प्रशिक्षण शाखा बाँकेको समन्वयमा आयोजित उक्त भेला नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षता तथा काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
सो क्रममा पार्टी सभापति गौडेलले प्रेस युनियन बलियो भयो भने पार्टी पनि बलियो हुने भएकाले आफ्ना गतिविधिहरुलाई क्रियाशील र चलायमान गराउन निर्देशन दिनुभयो । उहाँले काँग्रेसको शुभेच्छुक संगठन प्रेस युनियनजस्तै अन्य भातृ तथा शुभेच्छुक संगठनहरुलाई पनि गतिशिल र चलायमान हुन निर्देशन समेत दिनुभयो । उहाँले प्रेस युनियन लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन भएको स्मरण गराउँदै पार्टी र युनियनबीचको सम्बन्ध मजबुत हुनुपर्ने बताउनुभयो ।
प्रशिक्षण शाखा प्रमुख समेत रहनुभएका पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीले प्रेस स्वतन्त्रताप्रति काँग्रेस प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि काँग्रेस सधै प्रतिबद्ध रहेको जनाउनुभयो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले प्रशिक्षण भेलाले युनियकर्मीहरुलाई एक ढिक्का बनाउन प्रेरित गर्ने र यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्की, पार्टी सचिव शुधान्शु कोइराला, सहसचिव विनोद चौधरी, काँग्रेस क्षेत्र नं।२ का सभापति रमेश कुमार गुप्तालगायतको उपस्थिति रहेको थियो । युनियन बाँकेका सचिव भिष्म लोधले सहजीकरण गरेको उक्त भेलाको स्वागत मन्तव्य उपाध्यक्ष कमल खत्रीले व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ४ : ३२ बजे