७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

युक्रेन शिखर सम्मेलनमा पुटिनको शान्ति सर्तको आलोचना



एजेन्सी असार २, इटाली र जर्मनीका नेताले युक्रेनमा युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको युद्धविरामका सर्तलाई आलोचना गरेका छन् ।

यसअघि पुटिनले युक्रेनसँगको युद्ध रोक्न युक्रेनले डोनेट्स्क, लुहानस्क, खेरसन र जापोरिजियाबाट आफ्ना सेना फिर्ता लिनुपर्ने र युक्रेन नेटोमा सामेल नहुने ग्यारेन्टी गरे युद्ध रोकेर शान्ति वार्ता गर्न रुस तयार रहेको बताउनुभएको थियो ।

स्विट्जरल्याण्डमा दुई दिने शिखर सम्मेलनका क्रममा द्वन्द्व अन्त्य गर्न शीर्ष नेता भेला भएका छन् । छलफलमा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले रुसी राष्ट्रपतिको योजनालाई ुप्रचारु को संज्ञा दिनुभयो । जर्मन चान्सलर ओलाफ स्कोल्जले पुटिनको कदम तानाशाही शान्ति भन्दै टिप्पणी गर्नुभयो ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले रुसलाई हतियार आपूर्तिमा सहयोग गर्ने देश इतिहासको गलत पक्षमा उभिएको दाबी गर्नुभयो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री येर्माकले स्विस सम्मेलनमा स्वतन्त्रता, सार्वभौमसत्ता वा क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नहुने बताउनुभएको छ ।

कार्यक्रममा ९० वटाभन्दा धेरै देश र विश्व संस्था सहभागी छन् । तर सम्मेलनमा रुस सहभागी छैन । रुसको प्रमुख सहयोगी देश चीनको पनि उपस्थिति छैन

प्रकाशित मिति : ३ असार २०८१, आइतबार  ११ : ११ बजे