७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

‘पाक्युङ—काठमाण्डौ हवाई उडान चाँडै सञ्चालनमा आउँछ’ ः लोकसभा सदस्य सुब्बा



काठमाण्डौ असार १५, – भारतको सिक्किम क्रान्तिकारी मोर्चा, सिक्किमका लोकसभा सदस्य इन्द्रहाङ सुब्बाले नेपालसँग सबै विषयमा सहकार्य गर्न तयार भएको बताउनुभएको छ ।

लोकसभामा नेपाली भाषामा शपथ ग्रहण गरेसँगै चर्चामा आउनुभएका सुब्बाले सिक्किम सरकार नेपालसँग हवाई, सडक सञ्जाल, आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध विस्तारका लागि प्रयत्न गर्न तयार रहेको बताउनुभएको हो । उहाँले पाक्युङ–काठमाण्डौ हवाई उडान शुरु गर्नका लागि आवश्यक अध्ययन भइरहेको र चाँडै नै उडान शुरु हुने बताउनुभयो । उहाँले पाक्युङ–काठमाण्डौ उडान शुरु भएमा पर्यटन र अन्य क्षेत्रहरूमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

लोकसभा सदस्य सुब्बाले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार आएपछि नेपाल र सिक्किम सीमानाको चिवा भञ्ज्याङ नाका खोल्न पहल गरिरहेको पनि बताउनुभयो । उहाँले नाका सञ्चालनले नेपाल र सिक्किमबीच आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध विस्तार हुने उल्लेख गर्नुभयो । चिवा भञ्ज्याङसम्मको सडकलाई प्रमुख सडकका रूपमा विकास गरी नाकालाई करिडोर बनाउने कामको प्रस्ताव अघि बढिसकेको जानकारी दिँदै सुब्बाले यसले दुवै देशलाई फाइदा हुने पनि बताउनुभयो ।

भारतीय लोकसभाका सदस्य सुब्बाले भारतमा नेपालीभाषी धेरै रहेको र यसमा आफूहरूलाई गर्वको महशुस हुने बताउनुभयो । उहाँले आफूले बोल्ने भाषमा नै शपथ ग्रहण गर्न पाउनु आफ्ना लागि ठूलो सौभाग्य भएको पनि उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, शनिबार  ११ : ०८ बजे