७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एकीकृत समाजवादीको महाधिवेशन आजदेखि काठमाण्डौमा सुरु



काठमाण्डौ असार १६, – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । काठमाण्डौको कमलादिको नेपाल प्रज्ञा प्रतिष्ठानमा आज हुने महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई एकीकृत समाजवादीले आमन्त्रण गरेको छ ।

यही असार २० गतेसम्म चल्ने महाधिवेशनमा देशभरिबाट एक हजार आठ सय ४७ जना प्रतिनिधि आउने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताउनुभयो । २००६ सालमा पुष्पलालको नेतृत्वमा स्थापना भएको पार्टीकै निरन्तरताका रूपमा १० औँ महाधिवेशन आयोजना गरिएको उहाँको भनाइ छ । झन्डै तीन वर्षअघि एमालेबाट अलग भई नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो ।

हिजो भएको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेजसमेत तयार भइसकेको जानकारी दिनुभयो । उहाँले पार्टी विधान अनुसार केन्द्रीय कमिटी दुई सय ९९ सदस्यीय, पदाधिकारी सङ्ख्या २१ जना र पार्टी केन्द्रीय कमिटीले निर्णय गरी सम्मानित नेता र वरिष्ठ नेताको व्यवस्था गरिने जानकारी पनि दिनुभयो । महाधिवेशनमा पाँच प्रतिशत मनोनीत गर्ने व्यवस्था कार्यान्वयन नगरिने भएको छ ।

त्यसैगरी पार्टीको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेका व्यक्ति हुनुपर्ने र उपाध्यक्ष, उपमहासचिव र सचिव बन्न पोलिटब्युरोको सदस्य बन्न योग्यता पुगेका व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ । महाधिवेशनमा उम्मेदवार बन्नका लागि एमालेमा नै काम गरेको अवधिलाई गणना गरिने पार्टी महासचिव भुसालले जानकारी दिनुभयो ।

महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुने नेताको दाबी छ । तर अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल र महासचिव भुसाल तीन जना अध्यक्षको दावेदारका रूपमा रहनुभएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, आइतबार  ६ : ४० बजे