७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

साढे ३ लाख स्टिम गुलाफको प्रणय दिवसमा माग



कोहलपुर बाँके माघ २४, फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ।

एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताए।

मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भारतबाट गुलाफ ल्याइएको उनको भनाइ छ। यस वर्ष रातो गुलाफ प्रतिस्टिम ८० देखि एक सयसम्म पर्ने उनले बताए। आजबाट प्रणय दिवस सप्ताह सुरु भएको छ।

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा पनि यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ।

प्रणय दिवस फेब्रुअरी १४ तारिखमा पर्दछ। तर उक्त दिनभन्दा एक हप्ताअघिदेखि नै यो दिवस मनाउने प्रचलन छ। प्रेमको प्रतीक मानिने रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्दछन्।

अध्यक्ष तामाङका अनुसार कूल मागको ६० प्रतिशत काठमाडौँ उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाफ देशका अन्य सहरमा खपत हुने गर्छ।

प्रणय दिवसमा मात्रै रातो गुलाफको कारोबार तीन करोड ५० लाखको हुने उनको भनाइ छ। उनले वार्षिक तीन अर्ब सात करोडको फूलको कारोबार हुने गरेका बताए।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ११ : ३४ बजे