७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

विश्वमा आधा आप्रवासी प्रजाति लोप हुने अवस्थामा




काठमाण्डौ फागुन १, – विश्वका झण्डै आधा आप्रवासी प्रजातिहरू घट्दै गएका संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनले देखाएको छ । परिवर्तित मौसमसँगै विभिन्न वातावरणमा सर्ने सङबर्ड, समुद्री कछुवा, ह्वेल, शार्क र अन्य प्रवासी जीवजन्तु घट्दै गएका राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ ।

यी प्रजातिहरु बासस्थान परिवर्तन भइरहँदा पहिले भएका बासस्थानमा हानी, अवैध शिकार र माछा मार्ने, प्रदूषण तथा जलवायु परिवर्तनले जोखिममा परेका प्रतिवेदनले देखाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । संसारभरमा झण्डै ४४ प्रतिशत आप्रवासी प्रजातिहरूको सङ्ख्या घट्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रसङ्घले अनुगमन गरेको झण्डै एक हजार दुई सय प्रजातिमा २० प्रतिशत लोप हुने खतरामा छन् । उज्बेकिस्तानको समरकन्दमा संयुक्त राष्ट्रसङ्घ वन्यजन्तु सम्मेलनमा हिजो जारी प्रतिवेदनमा लोपुन्मुख रहेका प्रजातीहरूको यात्राको कुनै पनि विन्दुमा बासस्थानको हानि वा अन्य खतराका कारण सङ्ख्यामा कमी आउन सक्ने उल्लेख छ ।

राष्ट्रसङ्घीय सम्मेलनका सहभागीहरूले संरक्षण उपायहरूका लागि मूल्याङ्कन गर्ने र धेरै नयाँ प्रजातिको चासोलाई औपचारिकरूपमा सूचीबद्ध गर्ने योजना बनाएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ४ : २९ बजे