७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

चितवनका किसानले भुक्तानी नपाएको भन्दै सडकमै दूध पोखे




काठमाण्डौ फागुन ७, ( दूधको भुक्तानी नपाएको र बजारीकरणमा समस्या भएको भन्दै चितवनमा किसानले सडकमा दूध पोखेर विरोध गरेका छन् । हिजो केन्द्रीय बस टर्मिनल चोकमा उनीहरूले ८० लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध किसानले दूध तथा दुग्धजन्य पदार्थ बिक्री–वितरणमा सहज गर्नुपर्ने र किसानको दूधको भुक्तानी नियमित उपलब्ध गराउनुपर्ने माग राखेका छन् । चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्लाबाहिर बिक्री गर्ने गरिएको छ ।

सङ्घका अध्यक्ष बिशोर बगालेले पाँच दिनदेखि जिल्लामा उत्पादित दूध बिक्री हुन नसकेको भन्दै बजारको सहजीकरणका लागि सरकारसँग आग्रह गर्दा सुनुवाइ हुन नसकेको गुनासो गर्नुभयो । दूधको भुक्तानी नपाउँदा र दूध बिक्री नहुँदा पशुपालक किसान पलायन हुने अवस्थामा आएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १० : ५३ बजे